जोडिए विवेकशील–साझा
विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण घोषणा भएको छ । बुधबार भर्चुअल कार्यक्रममार्फत दुई पार्टीले एक भएको घोषणा गरेका हुन् ।
एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ । अध्यक्षमा रवीन्द्र मिश्र र संयोजकमा मिलन पाण्डेमा सहमति जुटेको छ ।
दुवै दलबाट केन्द्रीय समितिमा ६५–६५ जना रहनेछन् । सचिवालय २६ सदस्यीय छ । ६ महिनाभित्र एकता महाधिवेशन गर्ने भनिएको छ । विगतमा यी दुई दल एकै थिए । उनीहरूले विगतमा फुटप्रति माफी मागेका छन् ।
घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै विवेकशील नेपाली दलका संयोजक पाण्डेले विगतमा पार्टी फुट्नुलाई दुर्घटनाको संज्ञा दिए । उनले बराबरी सिद्धान्तअनुसार पार्टी एकीकरण गरेको बताए । बुधबारको हस्ताक्षर कार्यक्रमको भिडिओ कार्यक्रम सुरुमै देखाइएको थियो ।
पार्टी एकीकरण घोषणा कार्यक्रममा साझाका संयोजक मिश्रले वैकल्पिक राजनीतिका लागि आफूहरू फेरि एक भएको उल्लेख गरे ।
‘यो वा त्यो वादमा बाँधिएर होइन । देशको समृद्धिका लागि सुशासनलाई मुख्य मुद्दा बनाउन थालिएको छ,’ उनले भने । उनले भ्रष्टाचारविरुद्ध सबै लाग्नुपर्नेमा जोड दिए ।







