नेपाल–भारत नियमित हवाई उडान खुलाइँदै
कोरोना महामारीमा गरिएको लकडाउनका कारण बन्द भएको नेपाल–भारत सीधा हवाई उडान खुला हुने भएको छ । नेपाल सरकारले भारत उडानका लागि अनुमति दिने निर्णय गरेको हो ।
उडान अनुमतिको जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फथ भारत सरकारलाई गराउनेछ ।
मन्त्रालयले उडान खुला गर्ने र एयरलाइन्सलाई सेड्युल पेस गर्न आह्वान गर्न नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाइसकेको छ ।
मन्त्रालयको पत्र आएको र अब एयरलाइन्सहरुलाई सेड्युल पेस गर्न निर्देशन दिइने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।
नियमित उडान खुलेपछि नेपाल एयरलाइन्सले दैनिक एक उडानको अनुमति पाउनेछ भने अरु एयरलाइन्सको टुंगो लागेको छैन ।
काठमाडौंमा उडान गर्न भारतले दुई महिनाअघि नै प्रस्ताव पठाएको थियो ।
नेपालले सीमित गन्तव्यमा उडान सुरु गरेपछि भारतीय पक्षले काठमाडौंमा पनि उडान गर्ने प्रस्ताव पठाएको थियो ।
भारतीय पक्षले नेपाल नागरिक उड्डयन प्राधिकरणमा निश्चित मापदण्डमा रहेर नियमित उडान गर्ने प्रस्ताव गरेको थियो । भारतले काठमाडौंमा हुने उडानमा भारतीय र नेपाली नागरिक मात्र यात्रा गर्न पाउने गरी उडान गर्न प्रस्ताव गरेको थियो ।
सरकार तथा विमानस्थलले जारी गरेका स्वास्थ्य मापदण्ड पूरा गरेका यात्रुलाई मात्र अनुमति दिएर उडान सञ्चालन गर्न भारतले गरेको प्रस्ताव प्राधिकरणले नागरिक उड्डयन मन्त्रालयमा पठाएको थियो ।







