नेकपा सचिवालय बैठकमा ओली–दाहालका कागजपत्रमाथि मन्थन
सत्तारुढ नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले पेस गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरु भएको छ ।
बालुवाटारमा मंगलबार बसेको बैठकमा दुवै प्रस्तावमाथि औपचारिक रूपमा छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार सचिवालय बैठक बुधबार दिउँसो १ बजे फेरि बस्नेछ ।
बैठक बस्नु पहिले अनौपचारिक रूपमा पनि नेताहरूबीच संवाद अगाडि बढाउने निर्णय भएको श्रेष्ठले बताए । प्रचण्डले गत २८ कात्तिक र प्रधानमन्त्री ओलीले १३ मंसिरमा छुट्टाछुट्टै प्रतिवेदन सचिवालयमा प्रस्तुत गरेका थिए ।
ओलीलाई प्रचण्डको जवाफ
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पत्र र राजनीतिक प्रस्तावको मूल्यांकन गर्ने अधिकार पार्टी बैठकलाई मात्र भएको बताएका छन् ।
नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग भएको सवालजवाफमा प्रचण्डले यस्तो जवाफ दिएका हुन् ।
बैठकमा प्रचण्डले आफूमाथि लाञ्छना लगाएकाले त्यो फिर्ता नलिएसम्म बैठक नबस्ने प्रधानमन्त्री ओलीले चेतावनी दिएका थिए । बैठकको सुरुमै प्रचण्डले ओलीलाई बोल्न भनेका थिए ।
एक सचिवालय सदस्यका अनुसार प्रचण्डले ओली अडानको प्रतिवाद गरेका थिए ।
प्रचण्डले कर्णाली प्रकरण, वीरगञ्ज प्रकरण र भारतीय खुफिया एजेन्सी रअका प्रमुखसँगको भेटघाट प्रकरणलाई उठाएका थिए ।







