गोल्छाको पोल्टामा उद्योग वाणिज्य महासंघ
नेपालका उद्योगपति, व्यवसायीहरूको संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका रुपमा शेखर गोल्छाले कार्यभार सम्हालेका छन् । गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको १९ औं अध्यक्ष बनेका हुन् ।
करिब चार वर्षअघि महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका गोल्छा विधानको व्यवस्थाअनुसार शनिबार सम्पन्न ५४ औं साधारणसभाबाट अध्यक्ष चयन भएका हुन् ।
गोल्छाले महासंघकै विभिन्न समितिमा रहेर काम गरिसकेका छन् । पछिल्लो कार्यकाल भने वरिष्ठ उपाध्यक्षको भूमिकामा थिए ।
अध्ययनशील र आर्थिक विषयवस्तुमा पकड राख्ने व्यवसायीका रुपमा चिनिने गोल्छाले आगामी दुई वर्ष निजी क्षेत्रको छाता संगठनको नेतृत्व गर्नेछन् ।
महासंघलाई चलायमान र समस्या समाधानमुखी बनाउन पहल गर्ने गोल्छाले यसअघि नै घोषणा गरिसकेका छन् । यसका लागि संगठन सुदृढीकरणदेखि सचिवालयको सदृढीकरणसम्मका काम गर्ने, महासंघलाई देशको आर्थिक थिंकट्यांक बनाउनेसम्मका योजना उनले अघि सारेका छन् ।
आइतबार बिहान सम्पन्न मतगणनाबाट महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल, उपाध्यक्षहरूमा वस्तुगतबाट अन्जन श्रेष्ठ, जिल्लानगरबाट दिनेश श्रेष्ठ र एसोसिएटबाट रामचन्द्र संघई निर्वाचित भएका छन् ।
३० प्रतिशत मत भार रहेको एसोसिएटमा चन्द्र ढकालले ५ सय २२ र किशोर प्रधानले ३ सय ७५ मत ल्याएका छन् । २० प्रतिशत मत भार रहेको वस्तुगतमा चन्द्र ढकालले ५९ र किशोर प्रधानले ३९ मत ल्याए । ५० प्रतिशत मत भार रहेको जिल्ला–नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याए ।
महासंघको निर्वाचित कार्यसमितिले कोषाध्यक्षको निर्वाचन गर्नेछ ।
नेपालमा प्रजातन्त्र प्राप्तिपछि सुरु भएको वाणिक मण्डलदेखि २००८÷०९ तिर खुलेको अखिल नेपाल व्यापार संघले पनि अहिलेको महासंघले जस्तै व्यापार र व्यापारीको हकहितमा काम गरेको थियो ।







