प्रधानमन्त्री ओली–देउवा भेटले ततायो राजनीति
गोकुल अर्याल
दुई तिहाइको सरकार भएर पनि पार्टी किचलोको भूमरीमा फसेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले अकस्मात प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटारै बोलाएर लम्बेतान वार्ता गरेका छन् । ओलीको बोलावटमा बालुवाटार छिरेका सभापति देउवाले करिब तीन घन्टा त्यहाँ बिताएका थिए ।
शनिबारको ओली–देउवा भेटलाई लिएर नेकपाभित्र र बाहिरसमेत राजनीतिक तरंग पैदा भएको छ । कसैले ओली–देउवा भेटलाई नेकपा फुटाएर प्रतिपक्षीलाई सरकारमा लैजाने रणनीति हुन सक्ने लख काटेका छन् भने कसैले ओली नै देउवालाई प्रधानमन्त्री पदको अफर दिएको बताएका छन् ।
सत्तारुढ नेकपाभित्र विवाद बढेका बेला प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी नेतासँग लामो छलफल गरेपछि राजनीतिक सरगर्मी पुनः तातेको छ ।
रिक्त रहेका संवैधानिक आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्री ओलीले सभापति देउवालाई बालुवाटार बोलाएको नरम प्रतिक्रिया दुवै पार्टीका नेताहरुले दिएका छन् ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले पार्टीभित्र देखा परेका पछिल्ला विवादबारे पनि कुरा निकालेको स्रोतको दाबी छ ।
पार्टी फुट्ने अवस्थामा पुग्यो भने आगामी दिनमा सहकार्य गरी अगाडि जानुपर्ने विषयमा प्रधानमन्त्री र देउवाबीच कुराकानी भएको बताइन्छ ।
बालुवाटारको छलफलमा सभापति देउवासँगै कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक र प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी थिए ।
तर, कांग्रेस नेता लेखकले भने भेटमा आफू सहभागी नभएको बताए । ‘प्रधानमन्त्री र सभापतिजीबीच भेटवार्ता भएको भन्ने मैले पनि सुनेको हुँ,’ लेखकले भने, ‘के विषयमा कुराकानी भएको भन्ने थाहा छैन । म भेटवार्तामा सहभागी पनि थिइनँ ।’
ओली–देउवा भेटबारे दुवै पार्टीले अहिलेसम्म औपचारिक जानकारी दिएका छैनन् ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भेटवार्ता भए÷नभएबारे आफूलाई जानकारीमा नआएको बताए ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेतालाई बालुवाटारमै बोलाएर कानेखुसी गर्नुलाई अर्थपूर्ण मानिएको छ ।
गत २८ कात्तिकको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले ओलीको आलोचना गर्दै १९ पेजको प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्तावलाई प्रधानमन्त्री ओलीले आफ्नो राजनीति नै सिध्याउने गरी आएको अभियोगपत्रका रूपमा लिएका छन् । प्रचण्ड, माधव नेपाल र झलनाथ खनालहरुलाई तर्साउन ओलीले देउवा कार्ड खेलेको भन्नेहरु पनि उत्तिकै छन् ।







