रामपुरमा बन्ने भयो पाल्पाकै ठूलो शीतभण्डार
पाल्पामै सबैभन्दा ठूलो क्षमताको शीतभण्डार निर्माण अन्तिम चरणमा पुगेको छ । रामपुर नगरपालिकाले स्थानीय उत्पादनलाई भण्डारण गर्नका लागि ३०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गर्दै छ ।
कृषि तथा पशु सेवा शाखा कार्यालय परिसरमा करिब एक रोपनी क्षेत्रफलमा एकतले चार कोठासहितको शीतभण्डारको भवन निर्माणकार्य करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ । शीतभण्डारसहित प्राविधिक कक्ष, दुईतले आवासगृह र शौचालय निर्माण हुनेछ ।
रविना र अभिसा जेभी कन्स्ट्रक्सन प्रालिले संयुक्त रूपमा तीन करोड ५२ लाखको लागतमा ठेक्का लिई गत असार ५ गतेबाट निर्माणकार्य थालनी गरेको नगरपालिकाका सूचना अधिकारी तथा कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिए ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ बुटवलको सःशर्त अनुदान सहयोगमा शीतभण्डार निर्माण थालनी गरिएको हो । आर्थिक वर्ष ०७५÷७६ मा डिपीआर तयार गरी आव २०७६÷७७ मा ठेक्का सम्झौता गरिएको थियो ।
यहाँ शीतभण्डार नहुँदा कृषकले अन्यत्र शीतभण्डारमा कृषि उपज भण्डारण गर्न लैजानु पर्दा ढुवानी खर्च, बिउ लैजान ल्याउन समस्या थियो । रामपुरमा ठूलो क्षमताको शीतभण्डार निर्माण सुरु भएपछि यो वर्ष कृषकले हौसिँदै कृषि उपज उत्पादनमा जोड दिएका छन् । रामपुर नगरपालिकामा शीतभण्डार नहुँदा यहाँ उत्पादन भएका तरकारी तथा फलफूल, बिउबीजन भण्डारण गर्न भैरहवा, स्याङ्जालगायतका ठाउँमा लैजानुपर्ने बाध्यता छ ।
यहाँ उत्पादन हुने आलु, केरा, तरकारी बालीलगायतका विभिन्न कृषि उपज शीतभण्डारमा राख्न पाइने भएपछि कृषकलाई अन्यत्र लैजाने समस्या अब हट्ने भएको छ । आउँदो पुस मसान्तभित्र शीतभण्डार निर्माणको काम सम्पन्न गर्ने र कृषकले उत्पादन गरेका आलु यसै वर्षदेखि राख्ने तयारी गरेको रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिए ।
गत वर्ष नगरपालिकाको ‘एक वडा, एक उत्पादन कार्यक्रम’ अन्तर्गत वडा–६ मा लगाइएको आलु बिउ प्रयोजनका लागि स्याङ्जाको गल्याङ नगरपालिकाको जिमुवा शीतभण्डारमा ११५ क्विन्टल बिउका लागि भण्डारण गर्न लगिएको थियो । पाल्पाको रम्भा गाउँपालिकामा २५ मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भई सञ्चालनमा छ ।







