बालुवाटारमा ओली–प्रचण्डको घम्साघम्सी
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच नेताबीच शनिबार भएको वार्ता घम्साघम्सीमै सकिएको छ ।
शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलअनुसार सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई मनाउन पाँच नेता बालुवाटार पुगेका थिए ।
नेताहरुले सचिवालय बैठकका लागि सहमति दिन ओलीलाई लिखित रुपमा आग्रह गरेका छन् । शनिबार नै सचिवालय बैठक तोक्ने प्रयास भए पनि प्रधानमन्त्रीले आफूले सल्लाह गर्नुपर्ने बताएपछि सफल नभएको एक नेताले बताए ।
छलफलको सुरु अर्का अध्यक्ष प्रचण्डले गरेका थिए । उनी सचिवालय बैठकका लागि सहमति दिन लिखित आग्रह गर्नुपर्ने अवस्था किन आयो भनेर पृष्ठभूमिसहित बोलेका थिए ।
प्रचण्डले स्थायी कमिटी बैठक टुंग्याउने क्रममा सहमतिको मस्यौदा बनाउन कार्यदल गठन भएसँगै गडबडी सुरु भएको बताए ।
१० असारमा सुरु भएको स्थायी कमिटी बैठक जारी रहेका बेला प्रधानमन्त्री ओलीले १४ असारमा सार्वजनिक रुपमै भारतले आफ्नो सरकार ढाल्न खोजेको र त्यसमा नेपालका नेताहरूले पनि भूमिका खेलेको बताएका थिए ।
१७ असारमा बसेको पार्टी बैठकमा नेताहरूले ओलीको त्यही अभिव्यक्तिमाथि प्रश्न उठाएर प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्न माग गरे ।
यसले स्थायी कमिटी बैठक प्रभावित भयो । दुई अध्यक्षबीच भएको लगातारको छलफलपछि सहमतिको मस्यौदा बनाउन महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन भयो । दुवै अध्यक्षले कार्यदलको प्रतिवेदनअनुसार प्रस्ताव लगेपछि २६ भदौमा स्थायी कमिटी बैठक सकिएको थियो ।
कार्यदल गठनसँगै प्रधानमन्त्री ओली सहमतिविपरीत चल्न थालेको प्रचण्डले बताएका छन् । छलफलमा प्रचण्डले भने, ‘आफूखुसी राजनीतिक नियुक्तिहरू गर्नुभयो, कार्यदलको प्रतिवेदनप्रति इमानदार देखिनुभएन ।’
स्थायी कमिटीकै निर्णय कार्यान्वयन नभएपछि बैठक बसौंभन्दा ओली नमानेको उनले बताए ।
प्रचण्डको बोली फुत्किन नपाउँदै अर्का अध्यक्ष ओलीले त्यसको प्रतिवाद गरे,‘ झेली कुरा गर्ने ? मैले बैठक नबस्ने कहाँ भनेको छु ?’
बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतमले ओलीलाई सकेसम्म बैठक बस्न बस्नै नमान्ने, बैठक बसी हाले पनि नबोल्ने तथा निष्कर्षमा पुग्नै नदिने र निष्कर्षमा पुगे त्यो निष्कर्ष नै नमान्ने गरेको भन्दै आलोचना गरे ।
छलफलमा वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई तपाईँ आफ्नो आत्मालोचना गर्न किन तयार नहुने ? यतिका नेताहरूले किन विरोध गरे भनेर नसोच्ने भनेर प्रश्न गरेका थिए भने झलनाथ खनालले बैठक नै नबस्ने र छलफल नै नगर्नु गलत भएको बताए ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड–१९ को संक्रमण, त्यसले स्वास्थ्य र आर्थिक क्षेत्रमा पारेको संकट लगायतका विषयमा छलफल गर्न बैठक माग गर्दै आफूले दुवै अध्यक्षलाई पत्र लेखेको स्मरण गराएका थिए ।
प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीले रअ प्रमुखसँग गरेको भेट, प्रदेश सरकारलाई संघीय सरकारको प्रशासनिक इकाइ बनाउने अभिव्यक्ति र कोरोनाको परीक्षण र उपचार निःशुल्क नगर्ने निर्णयमा आफ्नो असहमति दर्ज गर्दै तत्काल सचिवालय बैठक बोलाउन माग गरेका थिए ।
पाँचै नेताको धारणा सुनिसकेपछि प्रधानमन्त्री एवं अध्यक्ष ओली बोलेका थिए । उनले अर्का अध्यक्ष प्रचण्डमाथि जालझेल र गुटबन्दी गरेको आरोप लगाए ।
छलफलमा पाँच नेताले सचिवालयको बैठक सकेसम्म भोलि, नभए पर्सि बोलाउनुपर्ने भन्दै ओलीको सहमति मागेका थिए । तर उनले अहिले नै मिति तोक्न नसकिने बताएका थिए ।
पर्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि बैठकको मिति नतोकिएको सञ्चारकर्मीलाई जानकारी दिए । उनले भने, ‘हामीले सकभर भोलि नै, नभए पर्सिसम्म बैठक बसेर छलफल गरौं भनेका छौं । प्रधानमन्त्री एवं अध्यक्ष कमरेडले बैठकबारे कुनै निष्कर्ष दिनुभएन ।’







