पहिलो सहरी सडक मापदण्ड, साइकल ट्रयाक र हरियाली सडक विकास प्राथमिकतामा
सहरी क्षेत्रमा व्यवस्थित सडक बनाउन नेपालमा पहिलो पटक ‘सहरी सडक मापदण्ड–२०७६’ तयार भएको छ । हालसम्म सडक विभागको मापदण्डअनुसार नेपालका सहरी क्षेत्रमा सडक विकास हुँदै आएकामा अब सहरमा बन्ने सडकको छुट्टै मापदण्ड कार्यान्वयनमा आउने भएको हो ।
सहरी विकास मन्त्रालयले ४ वर्ष लगाएर बनाएको मापदण्ड गत सोमबारको मन्त्रिपरिषद् बैठकले राजपत्रमा प्रकाशित गर्न स्वीकृति दिएको छ ।
मापदण्ड कार्यान्वयनमा आएपछि नेपालमा व्यवस्थित सहरी विकासले गति लिने अपेक्षा सरकारको छ ।
२० फागुन ०७६ मा मन्त्रिपरिषद् बैठकले सो मापदण्ड स्वीकृत गरेको थियो । उक्त मापदण्डले नयाँ विकास हुने सहरदेखि पुराना सहरमा सडक विस्तार गर्दा हरियाली र साइकल ट्रयाकलाई अनिवार्य गरेको छ ।
नेपालमा विकास भएका सहरी सडकको बीच भागमा अहिले पनि बिरुवा र मूल सडकको दाँयाबाँया साइकल ट्रयाक राख्ने व्यवस्थाको कुनै नीति छैन । अहिले बनेको मापदण्डले यसलाई समेटेको छ ।
मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले पहिलो पटक मापदण्ड बनेको हुँदा पुराना सहरी सडकमा कार्यान्वयन गर्न केही समस्या भए पनि नयाँ सहरमा यो व्यवस्था लागू हुने बताए ।
‘सहरभित्रका बाटा र राजमार्गका आवश्यकता फरक–फरक हुन्छन्,’ दवाडीले भने, ‘सहरभित्रका सडकमा अन्डर ग्राउन्ड पासवे, ओभरहेड ब्रिज, ढलहरूको व्यवस्थापन, युटिलिटी सर्भिसका साथै विभिन्न आवश्यकता हुन्छन् । त्यसलाई मापदण्डले सम्बोधन गरेको छ ।’
मापदण्ड ल्याउन ढिलाइ हुनुमा पहिला प्राविधिक आवश्यकताको महसुस कम भएर हुन सक्ने तर्क गर्दै दवाडीले अहिले सहरहरू बढेका, नयाँ सहरका योजनाहरू प्नि आएकाले आवश्यक देखिएको र नीति नियम बनाउने चासो पनि बढेको उनको तर्क छ ।
सरकारले विभिन्न राजमार्गमा नयाँ सहर विकास गर्ने, काठमाडौं उपत्यकाका ४ नयाँ नगर विकास गर्ने, स्मार्ट सिटीजस्ता योजना अघि बढाएको छ । त्यसलाई टेवा पु¥याउने गरी पहिलो पटक मापदण्ड तयार गरिएको हो ।
सो मापदण्डमा सहरमा बन्ने सडकलाई ४ भागमा वर्गीकरण गरेको मन्त्रालयका सहसचिव सुरेन्द्रमोहन श्रेष्ठले जानकारी दिए ।
मापदण्डअनुसार आर्टेरिअल रोड (सडक), सव–आर्टेरिअल रोड, कलेक्टर रोड र लोकल रोड हुन् ।
आर्टेरियल सडक ८ लेनको हुने र राइट अफ वे अर्थात् सडकको दाँयाबाँयाको अधिकार क्षेत्र ५० मिटरको हुनेछ । उक्त क्षेत्राधिकारभित्र ८ लेनको सडक, न्यूनतम २ दशमलव ५० मिटरको फुटपाथ, २ मिटरको साइकल ट्रयाक, बिरुवा लगाउन ५ मिटर निर्धारण गरिएको छ ।
सब–आर्टेरिअल सडकको राइट अफ वे भने ३० मिटर रहेको छ । यसमा पनि साइकल ट्रयाक २ मिटरको बनाउनुपर्ने उल्लेख छ । फुटपाथ, किनाराको चौडाइ समान भए पनि मेडियनको चौडाइ भने २ मिटरमा झारिएको छ ।
पुराना तथा नयाँ बन्ने सहरमा अब सव–आर्टेरिअल सडक ४ लेनको बनाउनुपर्नेछ । यस्तै, कलेक्टर सडकको राइट अफ वे भने २० मिटरको हुनेछ । २ लेनको यो सडकमा पनि २ मिटरको साइकल ट्रयाक अनिवार्य गरिएको छ ।
३ मिटरको फुटपाथ र सडक किनारा १ दशमलव २५ मिटरको हुनुपर्ने मापदण्ड तोकिएको छ । सहरको भित्री सडकलाई लोकल रोड भनिएको छ । यसको राइट अफ वे १० मिटर छ भने फुटपाथसहितको सडक हुनेछ ।
अब बन्ने सहरी सडकमा पूर्वाधारका साथै अपांगमैत्री, खानेपानी, बिजुली, इन्टरनेट, ढलजस्ता युटिलिटी सर्भिस पनि हुनेछन् । नेपालमा नयाँ नगरपालिका सहित नगररको संख्या २ सय ९३ पुगेको छ ।







