पौडेललाई परराष्ट्र सचिवको जिम्मा
परराष्ट्र मन्त्रालयको नयाँ सचिवमा भरत पौडेल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयका वरिष्ठ सहसचिव पौडेललाई सचिव बनाउने निर्णय गरेको हो । नवनियुक्त सचिव पौडेलले शुक्रबारै पदभार सम्हालेका छन् ।
यसअघि सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो । बैरागी मुख्यसचिव बनेपछि पौडेलले परराष्ट्रको निमित्त सचिवको काम गरिरहेका थिए ।
स्याङ्जाका ५४ वर्षीय पौडेल पाकिस्तानका लागि राजदूतसमेत भएका थिए । निमित्त सचिव हुनुअघि उनी परराष्ट्र प्रवक्ता थिए ।
सन् १९९२ मा अधिकृत बनेका उनी दस वर्षपछि परीक्षा पास गरेर परराष्ट्रको उपसचिव बनेका थिए । २०१० मा राहदानी विभागको महानिर्देशक भएका उनी २०१२ देखि २०१६ सम्म पाकिस्तानका लागि आवासीय राजदूत बनेका थिए ।
पौडेलले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट डिप्लोम्याटिक स्टडिजमा पोस्ट ग्रयाजुयट डिग्री गरेका छन् भने हेगको इन्टरनेसनल इन्स्टिच्युट अफ सोसल स्टडिजबाट इन्टरनेसनल डेभलपमेन्टमा मास्टर्स गरेका छन् ।







