प्रदेश ५ को राजधानी दाङ तोकिएपछि बुटवलमा आन्दोलन
प्रदेश ५ को राजधानी दाङको देउखुरीमा लैजाने प्रदेश सरकारको निर्णयको विरोधमा नेपाली कांग्रेसले आइतबार रुपन्देही बन्दको आह्वान गरेको छ ।
प्रदेशको राजधानी बुटवलबाट सार्ने निर्णयविरुद्ध नेपाली कांग्रेसले रुपन्देही बन्दको घोषणा गरेको हो । कांग्रेस रुपन्देहीको शनिबार बसेको बैठकले साँझ बुटवलका १९ वटै वडामा राँके जुलुस निकाल्ने र आइतबार रुपन्देही बन्द गर्ने निर्णय गरेको कांग्रेस बुटवलका नगर सभापति खेलराज पाण्डेले जानकारी दिए ।
उनले बैठकले विभिन्न आन्दोलनका कार्यक्रम तय गरेको भन्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायी तथा अन्य राजनीतिक दलका नेता÷कार्यकर्तालाई पनि आन्दोलनमा सहभागी हुन आह्वान गरे ।
कांग्रेसले सोमबार बिहान १० बजेदेखि नै प्रदेशसभा भवन घेराउ गर्ने निर्णयसमेत गरेको छ । सरकारले गरेको निर्णय फिर्ता लिन र बुटवललाई नै स्थायी राजधानी तोक्न माग गर्दै कांग्रेसले नेकपाका सांसदका घरअगाडि कालो झन्डा प्रदर्शनलगायतका कार्यक्रम गर्ने निर्णय गरेको जनाएको छ ।
नगर सभापति पाण्डेले प्रदेश राजधानी दाङ लैजान घोाषणा गरिएको दिन बुटवलका लागि कालो दिनको रुपमा लेखिनेसमेत बताए ।
अरु प्रदेशमा अस्थायी राजधानी तोकिएको स्थानमै स्थायी राजधानी बनाइएकामा प्रदेश ५ को मात्र परिवर्तन हुनु व्यक्तिगत र राजनितिक इगो एवं स्वार्थ भएको उनको दाबी छ ।
नेकपाका १४ सांसदले लेखे ‘नोट अफ डिसेन्ट’
प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने निर्णयसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै विवाद भएको छ ।
पार्टीका दुई अध्यक्षबीच सहमति भएलगत्तै प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा प्रस्ताव लगेको थियो ।
त्यसबारे छलफल गर्न शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रदेशसभा सदस्यहरूले विरोध गरेका छन् । १४ जना सांसदले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।
बिहान ८ बजेदेखि झन्डै ८ घण्टा चलेको बैठकमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, कपिलवस्तुका विष्णु पन्थी, पाल्पाका युवराज खनाललगायत १४ जनाले दाङ स्थायी राजधानी बनाउने सरकारको प्रस्ताव उपयुक्त नभएको भन्दै नोट अफ डिसेन्ट लेखेको सांसद डा.कृष्ण न्यौपानेले जानकारी दिए ।
‘दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने कुरा उपयुक्त छैन भनेर नोट अफ डिसेन्ट लेखेर विरोध जनायौं,’ डा. न्यौपानेले भने ।
सांसदहरूले प्रदेशसभामा आफ््ना विचार निर्वाध रुपमा राख्न पाउनुपर्ने र नेतृत्वले अंकुश लगाउन नहुने बताएको सांसद तुल्सी चौधरीले बताए ।
बैठकमा नेकपा प्रदेश ५ इन्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले सांसदहरूलाई पार्टीको निर्णय बाहिर नजान निर्देशन दिएको बैठकमा सहभागी एक सांसदले बताए ।







