प्रदेश राजधानी तोकिएपछि बुटवलमा विरोध
प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीमा बनाउने प्रस्ताव पेस गरिएसँगै बुटवलमा विरोध प्रदर्शन सुरु भएको छ ।
प्रदेशसभाको शुक्रबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको निर्णयअनुसार प्रदेशको नामकरण र स्थायी राजधानीको प्रस्ताव पेस गरेका थिए ।
मन्त्री केसीले प्रदेशसभामा दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर देउखुरीमा प्रदेशको राजधानी र नामकरण लुम्बिनी राख्ने प्रस्ताव गरेलगत्तै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको हो ।
नेविसंघले प्रदेशसभा अगाडि टायर बालेर विरोध जनाएको छ । नेविसंघका कार्यकर्ताको विरोधलाई बुटवबासीले साथ दिइरहेका छन् ।
त्यस्तै, बुटवल ट्राफिक चोकमा कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नम्बरको गाडी तोडफोड भएको छ । लु १ झ ४२९, लु १ झ ४४९ र लु १ झ ४४५ नम्बरका गाडीमा पनि तोडफोड गरिएको छ । यी गाडी प्रदेश सभाका विभिन्न समितिका सभापतिहरूले प्रयोग गर्थे ।
प्रदर्शन हुन थालेपछि बुटवलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रदेश सरकारले राजधानीको विषय निर्णय गरेसँगै बिहानैदेखि बुटवलको सुरक्षा व्यवस्था कडा पारिएको हो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश प्रमुख तथा प्रमुख जिल्ला अधिकारीको बैठक बसेको थियो ।
राजधानीको विषय टुंगो लागेपछि हुन सक्ने आन्दोलन र असन्तुष्टिलाई नियन्त्रण गर्न बाहिरी जिल्लाबाट समेत प्रहरी झिकाइएको स्रोतले बताएको छ ।







