ओली–प्रचण्ड छलफल निष्कर्षविहीन, मन्त्रिमण्डल पुनर्गठनमा अझै फुकेन गाँठो
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको भेटवार्ता निष्कर्षविहीन भएको छ । आइतबार मध्याहन् १२ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री ओलीले त्यसअघि अध्यक्ष प्रचण्डसँग भेटेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल मन्त्रिमण्डल पुनर्गठनका विषयमा केन्द्रित रहेको भए पनि कुनै ठोस सहमति नभएको बताइएको छ । अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले आजको छलफलमा कुनै सहमति नभएको जानकारी दिए ।
‘मन्त्रिमण्डल पुनर्गठन, पार्टी एकतालगायतका विषयमा छलफल भए पनि कुनै विषयमा सहमति भएको छैन’, सापकोटाले भने, ‘छलफललाई निरन्तरता दिने भन्ने सहमति भएको छ ।’
दुई अध्यक्षबीच सहमति नभएपछि आइतबार हुने भनिएको मन्त्रिपरिषद् पुनर्गठन टरेको छ ।
यसअघि बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिन मन्त्रिमण्डल पुनर्गठनका विषयमा लगातार छलफल भए पनि कुन मोडलमा गर्ने भन्ने विषयमा सहमति जुटेको थिएन । सोही विषयमा आज छलफल चले पनि दुई नेताबीच सहमति जुट्न सकेन ।
अध्यक्ष प्रचण्डले पार्टीले निर्णय गरेर मात्रै मन्त्रीको नाम तय गर्नुपर्ने सुझाव दिए पनि प्रधानमन्त्री ओलीले त्यसलाई नाइँ भनिदिएको स्रोतको दाबी छ ।







