पहिरोपीडितलाई उद्धार र राहत दिन कांग्रेसको माग
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले देशका विभिन्न ठाउँमा गएको पहिरोमा परेकालाई उद्धार गरी राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर स्याङ्जालगायत ठाउँमा गएका पहिरोमा परेकाको उद्धार गर्न सरकारसँग माग गरेका हुन् ।
‘अविरल वर्षाका कारण स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर– १४ तमादीमा बिहीबार गएको पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु र १ जना बेपत्ता भएका छन् ।
त्यसैगरी स्याङ्जाकै कालीगण्डकी गाउँपालिका वडा नम्बर– ४ मा १ जनाको मृत्यु, पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले घर पुरिँदा ५ जना बेपत्ता छन् ।
पहिरोमा परेका घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि कांग्रेसले गरेको छ ।
‘पहिरोमा परेर बेपत्ता भएकाहरुको खोजी कार्यलाई तीव्रता दिन, पीडित परिवारलाई राहत र स्वास्थ्योपचारको तत्काल व्यवस्था गर्न सरकारसँग कांग्रेस माग गर्दछ,’ पौडेलले भने ।
पाल्पाको पहिरोमा बेपत्ता पाँचै जनाको शव भेटियो
पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ ।
गए राती थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीका अनुसार गए राती घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको छ ।
शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव भेटिएको थियो ।
वर्षाका कारण शुक्रबार बिहानदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय खोजी कार्यमा खटिएका थिए ।







