लामो दूरीका यातायात चले तर ठाउँठाउँमा रोकिए
केन्द्र सरकारले बिहीबारबाट लामो दूरीका सम्पूर्ण सार्वजनिक यातायात खोल्ने निर्णय गरे पनि स्थानीय तहसँग सहकार्य नहुँदा काठमाडांैबाट बाहिरिएका गाडी विभिन्न जिल्लामा अड्किएका छन् । सरकारले मन्त्रिपरिषद्को निर्णयबाट सार्वजनिक यातायात खुलाए पनि बाटोमा प्रहरीले रोकेर दुःख दिएको यातायात व्यवसायीहरूले बताएका छन् ।
कोरोना संक्रमण नियन्त्रणका लागि चैत ११ देखि लगाइएको देशव्यापी बन्दाबन्दीसँगै लामो दूरीमा चल्ने सवारीसाधन ठप्प भएका थिए । साउनमा बन्दाबन्दी खुकुलो पारिँदा छोटो दूरीको यातायात सञ्चालन खुला गरिएको थियो ।
सरकारले बनाएको स्वास्थ्य मापदण्ड पालना गरी गाडी चलाए पनि स्थानीय सरकार र केन्द्र सरकारबीच समन्वय नहुँदा बाटोमा प्रहरीले गाडी रोकेर दुःख दिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए ।
सुनसरी, धादिङ, विराटनगर, चितवन र झापालगायत जिल्लामा गाडी रोकिएको उनले बताए । उनका अनुसार झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले त्यहाँका व्यवसायीलाई भोलि यातायात खुलाउने विषयमा छलफल गर्न बोलाएका छन् ।
आपूmहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई यसको जानकारी गराएकोमा मन्त्रीले यातायात सञ्चालनको सहज वातावरण बनाउने आश्वासन दिएको उनको भनाइ छ ।
यातायात सञ्चालनको पहिलो दिन लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आए पनि यात्रुको चाप भने सामान्य देखियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहीवार पहिलो दिन ६९ वटा सार्वजनिक बस काठमाडांै भित्रिएकामा ५६ वटा मात्र बाहिरिएका छन् ।







