जनकपुर–जयनगरमा रेल चल्दै
जनकपुर–जयनगर रेलमार्गको ३४ किलोमिटर खण्डमा शुक्रबार परीक्षणको रुपमा रेल सञ्चालन चलाइने भएको छ । भारतीय कम्पनी इन्टरनेसनल कोच फ्याक्ट्रीले रु. ८६ करोेड लगानी निर्माण गरेको रेलको परीक्षण शुक्रबार गरिने नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रवन्धक गुरु भट्टराईले जानकारी दिए । करिब १३ सय यात्रु क्षमता रहेको रेल सीमावर्ती जयनगरबाट जनकपुर आउनेछ ।
परीक्षण सञ्चालनका क्रममा रेलमा कुनै समस्या नआए शुक्रवार नै भारतीय कम्पनीले नेपाललाई जिम्मा लगाउनेछ । उक्त रेल सञ्चालन पनि कम्पनीकै प्राविधिकहरुले चलाएर नेपालको जनकपुरसम्म ल्याउने भट्टराईले बताए ।
नियमित रुपमा सञ्चालनका लागि एक साताभित्रै भारतसँग छलफल गरेर मोडालिटी तयार हुने उनले जानकारी दिए ।
भारत सरकारको सहयोगमा निर्माणाधिन जयनगर–जनकपुर–बर्दिबास रेलमार्ग ६९ किलोमिटर रहेको छ । त्यसमध्ये जयनगर–जनकपुर ३४ किमि खण्डमा परीक्षण सञ्चालन गरिनेछ ।
रेलवे विभाग जनकपुर कार्यालयका साइट इन्जिनियर विनोद ओझाका अनुसार नेपालको राष्ट्रिय झन्डाको रंगमा तयार भएको रेल हाल भारतको पटनास्थित हाजिपुर स्टेसनमा छ ।
नेपाल सरकारले रेलका दुई डिब्बा ल्याउन गरेको सम्झौताअनुसार मोबिलाइजेसनको २० प्रतिशत रकम बुझाइसकिएको छ । बाँकी ८० प्रतिशत रकम रेल जनकपुर आएर परीक्षण भएपछि मात्र भुक्तानी गरिने इन्जिनियर विनोद ओझाले जानकारी दिए ।
जनकपुर–जयनगर रेल सञ्चालनका लागि भारत सरकारकै अनुदानमा रेलमार्ग निर्माण पूरा भइसकेको छ ।
जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेलमार्ग तयारी अवस्थामा छ । गत वर्ष रेल सेवा सञ्चालन हुने दाबी सरोकारवाला निकायले गरे पनि बाढीका कारण सम्भव भएन । रेलमार्ग भूगोलअनुसार निर्माण नहुँदा बाढीले क्षतिग्रस्त बनाएको थियो ।







