संवैधानिक निकायमा पदपूर्ति नहुनुमा प्रधानमन्त्रीकै अनिच्छा – कांग्रेस
नेपाली कांग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक निकायका रिक्त पदमा नियुक्ति हुन नसकेको बताएको छ । संसद्मा प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्री केपी ओलीले गर्नुपर्ने कामलाई प्राथमिकतामा नराख्ने तर अनावश्यक काममा अग्रसर देखिएको दाबी गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लामो समयसम्म रिक्त रहेको संवैधानिक आयोगका पदपूर्तिका लागि ध्यान दिन नसक्नु सरकार र प्रधानमन्त्रीको कमजोरी भएकाले यसको अपजस प्रतिपक्षीलाई दिन नहुने बताए ।
राम्रा कामको जस सरकारले लिन खोज्नु स्वाभाविक भए पनि काममा ढिलासुस्ती गर्ने र प्रतिपक्षीलाई दोषी देखाउने प्रवृत्ति प्रधानमन्त्री ओलीमा रहेको उनको बुझाइ छ ।
१३ वटा संवैधानिक आयोगमध्ये अहिले १० वटामा ३९ पद रिक्त छन् । प्रतिपक्षी दलले बार्गेनिङ गरिरहेका कारण पदपूर्तिमा ढिलाइ भइरहेको भन्दै प्रचार भइरहेका बेला शर्माले लामो समयसम्म प्रदेशहरुको नामाकरणसमेत गर्न नसक्ने सत्तारुढ दलले संवैधानिक निकायमा प्रतिपक्षीका कारण पदपूर्ति गर्न नसकिएको भनेर प्रचार गर्न नहुने बताए ।
शर्माले भने, ‘प्रदेशहरुको नामाकरण हुन सकेको छैन । नेकपाकै सरकार छ । खै त अहिलेसम्म नामकरण भएको ? संवैधानिक परिषद्मा फरक फरक क्षेत्रको प्रतिनिधित्व भए पनि सत्तारुढ दल निकटकाहरूको नै बहुमत छ । त्यसैले प्रतिपक्षीका कारण यो निर्णय भएन भन्ने दोष लगाउनु गलत हो ।’
अहिलेसम्म पनि मधेसी, दलित र आदिवासी जनजाति आयोगले अध्यक्ष पाएका छैनन् । यी आयोगमा अध्यक्षसहित ४ जना अन्य पदाधिकारी रहने व्यवस्था छ ।







