डा. खतिवडा भए प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार
अर्थमन्त्रीको दोस्रो कार्यकाल सकेर बिदा भएका निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई सरकारले प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबारको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रिस्तरीय सुविधा पाउने गरी प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गरेको जानकारी दिएका हुन् ।
केपी ओली निकट मानिने खतिवडालाई प्रधानमन्त्रीले राष्ट्रिय सभाको रिक्त एक सिटमा पुनः मनोनीत गर्दै अर्थमन्त्रीमा निरन्तरता दिन चाहे पनि पार्टीभित्रको दबाबका कारण उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गरिएको थियो ।
गौतम राष्ट्रिय सभामा सिफारिस भएपछि मन्त्रिपरिषद्ले खतिवडालाई प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । ओली सरकारमा दुई कार्यकाल अर्थमन्त्रीको जिम्मेवार िनिर्वाह गरेका खतिवडाले पछिल्लो समय सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणका कारण तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएपछि सञ्चार मन्त्रालय र सरकारको प्रवक्ताको जिम्मेवारीसमेत सम्हाल्दै आएका थिए ।
अर्थमन्त्रीको रुपमा खतिवडाको दोस्रो कार्यकाल गत भदौ २० सकिएको थियो थियो । प्रधानमन्त्रीले खतिवडालाई थप जिम्मेवारी दिने संकेत उनको बिदाइपछि उद्योग वाणिज्य क्षेत्रका अगुवाहरुसँगको बालुवाटार छलफलमै गरिसकेका थिए ।
खतिवडाको राजीनामापछि अर्थ मन्त्रालय आफैँले हेर्दै आएका प्रधानमन्त्रीले उनैलाई सरकारको आर्थिक मामिला हेर्ने जिम्मेवारी दिएका हुन् ।







