जस्तापाताले रंगिँदै पाल्पाका ग्रामीण बस्ती
रासस
पाल्पाका स्थानीय सरकारहरुले खरका छाना भएका घरमा जस्तापाता लगाउने अभियानलाई तीव्रता दिँदै आएका छन् ।
स्थानीय सरकारले खरको छानो विस्थापन गरी जस्तापाता लगाउन थालेपछि हिजोआज पाल्पाका ग्रामीण क्षेत्रमा बस्ने विपन्न, गरिब तथा असहाय परिवारका घर जस्तापाताले रंगिन थालेका हुन् ।
रामपुर नगरपालिका, रम्भा, पूर्वखोला, माथागढीलगायत गाउँपालिकाले यसै वर्षभित्र खरको छानो लगाउने कार्य सम्पन्न गर्ने योजनाअनुरुप कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
खरको छानो भएका घरमा स्थानीय तहले बजेट विनियोजन गरी यसै वर्ष सम्पन्न गर्ने लक्ष्यका साथ जस्तापाता उपलब्ध गराएका छन् ।
‘रामपुरको नगर, खररहित घर’ नारासहित आर्थिक वर्ष ०७४÷७५ देखि नगरपालिकाले जस्तापाता लगाउने कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरपालिकामा खरका छाना भएका करिब आठ सय घरधुरीमा जस्तापाता लगाउने कार्यक्रमअन्र्तगत हालसम्म ४ सय ३९ घरधुरीमा लगाइसकिएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्य बताउँछन् ।
पहिलो वर्ष रामपुर नगरपालिकाले ५० लाख रकम विनियोजन गरी एक सय ४६ खरको छानो भएका घरमा जस्तापाताको छानो उपलब्ध गराएको छ भने दोस्रो वर्ष नगरपालिकाले ५० लाख रकम छुट्याएर १३३ घरधुरीमा जस्तापाता वितरण गरेको छ ।
तेस्रो वर्ष अर्थात् गत आर्थिक वर्षमा रामपुर नगरपालिकाको ५० लाख र प्रदेश सरकारको ५० लाख गरी १ करोडको बजेटमा १६० घरमा खरको छानो हटाएर जस्तापाताको छानो लगाइएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए । घर छाउन नसकेर खरकै छानामुनि बसोबास गरेका विपन्न परिवारलाई जस्तापाता निःशुल्क सहयोग पाएपछि ठूलो राहत मिलेको वसन्ती रानाले बताइन् ।
उनले रामपुर नगरपालिकाले उपलब्ध गराएको ५० हजार बराबरको जस्तापाता घरमा लगाएपछि चुहिने छानोबाट मुक्त भएको जानकारी दिइन् ।
आव ०७७÷७८ का लागि रामपुर नगरपालिकाले ‘जनताको अपेक्षा, मेयरको शुभेच्छा’ कार्यक्रमअन्र्तगत ८० लाख रकमबाट खरको छानो हटाएर जस्तापाताको छानो लगाउने कार्यक्रम रहेको समितिका सदस्य तथा कार्यपालिका सदस्य सावित्रा गौतमले बताइन् । उनी भन्छिन्, ‘यस वर्ष नगरभित्रका खरका छाना भएका सबै घरधुरीमा जस्तापाता लगाउने कार्य सम्पन्न गर्ने योजनाअनुसार कामलाई तीव्र रूपमा अगाडि बढाएका छौं । घरको क्षेत्रफल हेरेर आवश्यक पर्ने जस्तापाता वितरण गरिरहेका छौं । तीन वर्षको अवधिमा नगरपालिकाले १ हजार ७ सय १६ बन्डल जस्तापाता वितरण गरेको छ ।’
रम्भा गाउँपालिकाले गत वर्षदेखि सुरु गरेको खररहितको घर भन्ने कार्यक्रम यस वर्ष पनि निरन्तरता दिएर आउँदो असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । खरका छानो भएका २ सय ८३ घरधुरीमध्ये गत वर्ष २ सय २० घरमा जस्तापाता लगाउने कार्य सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । गत वर्ष ५६ लाख बराबरको बजेटबाट जस्तापाता लगाइएको छ भने यस वर्ष ६३ खरका छाना भएका घरमा संघीय सरकारको सहयोगमा करिब २० लाखदेखि २२ लाखको लागतमा जस्तापाता लगाउने कार्यक्रम रहेको अध्यक्ष भण्डारी बताउँछन् ।
माथागढी गाउँपालिकामा जम्मा ५ हजार २ सय ४० घरमध्ये चार हजार ६७ जस्तापाता, पक्की ८५३, खरका छाना भएका ६२३ र टायल लगाएका ३२ घर छन् । यहाँ खरका छाना हटाएर जस्तापाता लगाउने कार्य आर्थिक वर्ष ०७४÷७५ देखि सुरु भएको हो ।
तीन वर्षमा ४ सय घरधुरीमा जस्तापाता लगाउने कार्य सम्पन्न भइसकेको छ भने यस वर्ष संघीय सरकारको सहयोगमा बाँकी २ सय २३ घरधुरीमा जस्तापाता लगाएर खरको छानोमुक्त गाउँपालिका घोषणा गर्ने गरी धमाधम कार्यक्रम गरिरहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले जानकारी दिए ।
यस वर्ष गाउँपालिकाको ३० लाख बजेट विनियोजन गरिएको छ ।
पूर्वखोला गाउँपालिकाले पनि यसै आर्थिक वर्षमा खरको छानोरहित गाउँपालिका घोषणा गर्ने जनाएको छ । खरका छाना भएका ५ सय ५३ घरधुरीमध्ये बाँकी २ सय १६ घरमा जस्तापाता लगाउने कार्यक्रम रहेको सूचना अधिकारी मोहन ढकाल बताउँछन् ।
बगनासकाली गाउँपालिकाले भने खरका छाना भएका २ सय ४९ घरमा जस्तापाता लगाउने कार्य गत आर्थिक वर्षको पुस मसान्तभित्र नै सम्पन्न गरिसकेको छ । गाउँपालिकाभित्र खरका छानालाई विस्थापित गरी ८० लाखको लागतमा जस्तापाता छाउने कार्य सम्पन्न गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । यो जिल्लामै खरको छानोमुक्त पहिलो गाउँपालिका बनेको छ ।







