उपत्यकामा निषेधाज्ञा थप खुकुलो
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई बिहीबारबाट केही खुकुलो बनाइएको छ । बुधबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ २५ देखि निषेधाज्ञालाई केही खुकुलो पार्दै व्यापार, व्यवसाय र उद्योग कलकारखाना चलाउन सर्तसहित अनुमति दिएको हो ।
बैठकले बुधबार मध्यरातदेखि भदौ ३१ गते मध्यरातसम्मका लागि लागू हुने गरी निषेधाज्ञाका बेलामा विभिन्न सेवा सञ्चालन गर्न छुट दिने निर्णय गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले भदौ ३ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गर्दै आएको छ ।
स्थानीय प्रशासनले उपत्यकाभित्र जोर–बिजोर प्रणालीमा निजी र सार्वजनिक यातायात सञ्चालन गर्न दिने भएको छ । १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने, भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रमा ५ वर्षमुनिका बालबालिका २ जना राखी चलाउन सकिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै, निजी सवारी साधनहरू प्नि स्वास्थ्य मापदण्ड पालना गरी जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिइनेछ । तर, मालवाहक तथा अत्यावश्यक सामग्री आपूर्ति गर्ने सवारी साधनको हकमा भने जोरबिजोर लागू हुने छैन ।
निषेध गरिएका क्षेत्रहरू
जारी निषेधाज्ञामा खुला स्थानमा भीडभाड हुन, भेला हुन तथा जुलुस गर्न तथा नित्य पूजापाठबाहेक धार्मिक स्थलमा अन्य गतिविधि सञ्चालन गर्न पाइने छैन ।
भीडभाड हुने उद्योग कलकारखाना, व्यापार व्यवसायअन्तर्गतका स्वास्थ्य मापदण्डविपरीत हुने क्रियाकलाप गर्न पनि निषेध गरिएको छ ।
शैक्षिक संस्थाहरु सञ्चालन गर्न, सुरक्षा मापदण्डविपरित श्रमिकको ओसारपसार गर्न, सभा, गोष्ठी, तालिम, सेमिनार सिनेमा हल, पार्र्टी प्यालेस, सैलुन ब्युटिपार्लर, चिडियाखाना सञ्चालनमा पनि रोक लगाइएको छ ।
पसल खोल्न आलोपालो प्रणाली
बिहीबारदेखि उपत्यकामा बारअनुसार आलोपालो गरी पसल खोल्न दिइएको छ छ । बजारमा बढी भीड बढ्न नदिन समय र बारअनुसार पसल खोल्न दिइएको हो ।
खाद्यान्न, दुध, फलफूल, तरकारी, मासु बिक्री गर्ने पसलहरु दैनिक बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला रहनेछन् । त्यस्तै, विकास निर्माणसँग सम्बन्धित सामग्री विक्री वितरण गर्ने पसल व्यवसाय र सोको ढुवानी गर्ने सवारी साधन दिउँसो २ देखि बेलुका ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।
यस्तै, तयारी खाद्यवस्तुको टेकअवे र अनलाइन डेलिभरी दिउँसो १२ देखि बेलुका ७ बजेसम्म मात्र गर्न पाइनेछ ।
सहकारी संस्थाहरु स्वास्थ्य मापदण्ड अपनाएर बिहान ११ देखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाइनेछ । सपिङ मल, फेन्सी स्टोर, कपडा, जुत्ता पसल कस्मेटिक लगायतका पसलहरु मापदण्ड पालना गरेर साताको सोमबार, बुधबार र शनिबार खोल्न पाइनेछ ।
भाडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइनेछ ।
फर्निचर र अटोमोवाइलसम्बन्धी पसल सातामा सोमबार र बुधबार खुला रहनेछन् । फुटपाथ, ठेला, स्टेसनरी इलेक्ट्रिक र इलेक्ट्रोनिक पसल र डिपार्टमेन्ट स्टोरहरु बिहान ११ सम्म र बेलुका ४ देखि ७ बजेसम्म खुल्नेछन् ।
सवारी साधनका वर्कसपहरू विहान ८ देखि बेलुका ८ बजेम्म मात्र सञ्चालन गर्न पाइनेछ । तर, यी सबैमा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।
कुन बार के व्यवसाय खोल्न पाइन्छ
सपिङ मल÷ फेन्सी स्टोर सोम, बुध, शनि
कपडा÷जुत्ता
कस्मेटिक सोम, बुध, शनि
भाँडा÷भान्साजन्य सामग्री आइत, मंगल, शुक्र
फर्निचर÷
अटोमोबाइल सोम, बुध







