कहाँ–कहाँ छ, निषेधाज्ञा
काठमाडौं
सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि चैत ११ देखि गरेको लकडाउन गत ७ साउनमा खुलायो । लकडाउन अन्त्य भएसँगै मुलुकभर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि ३५ जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेका छन् ।
निश्चित क्षेत्रमा संक्रमण देखिए आंशिक निषेधाज्ञा गरिएको छ । त्यसअनुसार १२ जिल्लामा आंशिक निषेधाज्ञा लागू गरिएको छ ।
गृह मन्त्रालयका अनुसार कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको निष्कर्षअनुुसार प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा लागू गरेका हुन् । स्थानीय प्रशासन ऐन, ०२८ र मन्त्रिपरिषदको निर्णयअनुसार संक्रमण बढी देखिएका स्थानमा सीडीओहरूले निषेधाज्ञाको आदेश जारी गरेको बताएका छन् ।
सरकारी अधिकारीका अनुसार अब लकडाउन नगर्ने निर्णयअनुसार संक्रमण देखिएका ठाउँमा अघोषित रूपमा लकडाउनसरह नै निषेधाज्ञा जारी गर्ने नीति लिइएको हो ।
गृह मन्त्रालयका अनुसार सप्तरी, धनुषा, बाँके, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, धनकुटा, रामेछाप, दोलखामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ ।
नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, , कास्की, कैलाली, प्युठान, दैलेख, कञ्चनपुर, डडेलधुरा, कालिकोट, तेह्रथुम, संखुवासभा, रूपन्देही, चितवन र बैतडीमा पनि जिल्लाभर निषेधाज्ञा छ ।
आंशिक निषेधाज्ञा लागू गरिएका जिल्लामा नुवाकोट, जुम्ला, मोरङ, दार्चुला, झापा, मकवानपुर, धादिङ, उदयपुर, तनहुँ, सुर्खेत, बाग्लुङ, पश्चिम रुकुम र जाजरकोट रहेका छन् ।
निषेधाज्ञा लागू गरिएका क्षेत्रमा सर्वसाधारणलाई हिँडडुलमा रोक लगाइएको छ भने अत्यावश्यक सेवा मात्र सुचारु गरिएको छ । आइतबारबाट उपत्यकामा खाद्यान्न तथा तरकारी पसल पनि बिहान ९ः१५ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको छ ।







