कांग्रेस केन्द्रीय समितिको बैठक जारी
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नराम्ररी पराजित कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्दैछ। प्रधानमन्त्री निवास वालुवाटारमा कांग्रेसको २९ सदस्यीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक सूचीका साथै आगामी केन्द्रीय कार्यसमिति बैठकबारे समेत छलफल गर्नेछ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडैलसँग छलफल गरेपछि शुक्रबार बैठक बोलाएका थिए। निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिक सूचीबाट विजेता उम्मेदवारको सूची पठाउन दलहरूलाई पत्र पठाएपछि कांग्रेस सभापति देउवाले समितिको बैठक बोलाएको कांग्रेस नेताहरूले बताएका छन्। बैठकमा घनिभुत छलफल भइरहेको छ ।
निर्वाचनमा पार्टीको लज्जास्पद पराजयसँगै कांग्रेसभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउनेदेखि विशेष महाधिवेशन गर्नुपर्नेसम्मका आवाज उठिरहेका छन्। सभापति देउवा प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको सूची टुंगो लगाइसकेपछि केन्द्रीय कार्यसमिति बैठक बोलाउने मनस्थितिमा रहेको कांग्रेस नेताहरूले बताएका छन्। कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार बस्ने कार्यसम्पादन समितिको बैठकमा समानुपातिकतर्फको विजेता सूची, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र समसामयिक राजनीतिक अवस्थामाथि छलफल हुनेछ।
प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावमा कांग्रेसले प्रत्यक्षतर्फका १ सय ६५ सिट मध्ये २३ सिट मात्र जितेको छ। कांग्रेसको कार्यसम्पादन समितिमा रहेका अधिकांश नेताहरू चुनावमा पराजित भएका छन्। समितिमा रहेका प्रकाशमान सिंहदेखि शेखर कोइरालासम्म केन्द्रीय नेताहरूले समेत पार्टी नेतृत्वको आलोचना गर्दै सार्वजनिक रूपमा तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेका थिए। शुक्रबार बस्ने कार्यसम्पादन समिति बैठकमा प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायत नेताहरूले तत्काल केन्द्रिय कार्यसमिति बैठक बोलाउन माग गर्ने कांग्रेस स्रोतले बताएको छ।
source : annapurnapost








