कविता महोत्सव हुँदै
काठमाडौं–साहित्य सदन नेपालले विश्व कविता दिवस अवसरमा राष्ट्रव्यापी कविता महोत्सव गर्ने भएको छ। जनप्रज्ञा–प्रतिष्ठानका रूपमा स्थापित सदनले आगामी चैत ८ मा राष्ट्रव्यापी कविता महोत्सव गर्न लागेको हो।
सदनका अध्यक्ष प्राडा. हेमनाथ पौडेलले उक्त दिन प्रतियोगी कविका साथै अतिथि कविका कविता वाचन, विमर्शका तथा महोत्सव हुने बताए।
उनका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीयलाई १० हजारको पुरस्कार दिइनेछ।
सन् १९९९ मा संयुक्त राष्ट्रसंघको शैक्षिक तथा सांस्कृतिक संगठन युनिस्कोले हरेक मार्च २१ लाई विश्व कविता दिवस मनाउने निर्णय गरेसँगै नेपालमा पनि यो दिवस मनाउन थालिएको हो।
साहित्यकार भ्रष्ट छैनन् ः कुलपति राई
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले भ्रष्टाचार र अनियमिततामा अपवादबाहेक कवि साहित्यकार संलग्न नभएको बताएका छन्।
सर्वोच्च अदालत बार एसोसिएसनको स्वर्ण महोत्सवका अवसरमा एसोसिएसनको भाषा साहित्य, कला संस्कृति समिति, नेपाल कानुन व्यवसायी भाषा साहित्य प्रतिष्ठान र निर्झर दिलचेत वाङ्यमय प्रतिष्ठान नेपालद्वारा ‘संरक्षणमा कानुन व्यवसायीको भूमिका र दायित्व’ विषयक अन्तरविमर्शमा कुलपति राईले समाजमा हुने गरेका भ्रष्टाचार र अनियमितताका मुद्दामा अपवादबाहेक कवि साहित्यकार संलग्न नभएको बताएका हुन्।
साहित्यका विविध विधा र कृति पढ्न कानुन व्यवसायीलाई आग्रह गर्दै उहाँले बहुल भाषाबारे ज्ञान भए शब्दहरूको प्रयोगमा अर्थको अनर्थ नलाग्ने र फैसला त्रुटिरहित हुने उनको भनाइ छ।
कार्यक्रममा पूर्वन्यायाधीश कमलनारायण दासले सबै पक्ष मिलेर नेपाली भाषा र मातृभाषालाई बचाउन अग्रसर हुनुपर्नेमा जोड दिए।
प्राडा. भागवत ढकालले भाषाको प्रयोग गर्दा विभिन्न मातृभाषाबाट आएका शब्दको सम्मान गर्नु अत्यावश्यक भएको बताए।