विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?
लोला बेयर्डले आफ्नो प्रेमीलाई गाडी रोक्न भन्छिन्। यात्रा सुरु भएको ४० मिनेटमै उनलाई वाकवाकीले ‘सताउन’ थाल्छ र गाडीको छेउमा भुईँमा बान्ता गर्नबाट उनी आफूलाई रोक्न सक्दिनन्।
उत्तरी लन्डनकी २४ वर्षीया लोलालाई दुई वर्षअघि आफ्नो प्रेमीले विद्युतीय गाडी (ईभी) नकिन्दासम्म मोसन सिकनेस (यात्रा गर्दा हुने वाकवाकी) को अनुभव नै थिएन।
त्यसयता, जब प्रेमीले उनलाई लामो यात्रामा लैजान्छन्, उनी ‘धेरै वाकवाकी’ लागेको महसुस गर्छिन्। यो समस्या यति गम्भीर बनिसकेको छ, उनले प्रेमीलाई गाडी नै फेर्न भनिसकेकी छन्।
यस्तो समस्या भोग्ने लोला एक्ली होइनन्। अन्य मानिसहरूले बीबीसीलाई बताएअनुसार विद्युतीय गाडीमा यात्रुको रूपमा बस्दा उनीहरू वा आफ्ना बालबालिकाहरूलाई धेरै वाकवाकी लागेको महसुस हुन्छ। तर सँगसँगै, धेरै ईभी चालकहरू यसलाई कुनै चिन्ताको विषय मान्दैनन्।
त्यसोभए मोसन सिकनेसका यी विवरणहरूलाई केले स्पष्ट पार्न सक्छ त?
किङ्ग्स कलेज लन्डनमा एनाटोमी र बायोमेकानिक्सकी वरिष्ठ उपप्राध्यापक डा. आइरिन डी जियुलियोको अनुसन्धानमा मोसन सिकनेसको विषय पनि समावेश छ। उनी भन्छिन्, अहिलेसम्मको अनुसन्धानले देखाएअनुसार केही मानिसहरू गैर-विद्युतीय गाडीमा भन्दा विद्युतीय गाडीमा बढी गम्भीर मोसन सिकनेसको अनुभव गर्छन्।
सिकागोस्थित नर्थवेस्टर्न मेडिसिनका स्नायु रोग विशेषज्ञ डा. निकोलस ह्याक चक्कर लाग्ने र रिँगटा लाग्ने समस्याका विशेषज्ञ हुन्। उनले पनि आफ्ना केही बिरामीहरूबाट यस्तै कुरा सुनेका छन्। उनी भन्छन्, ‘विद्युतीय गाडीमा बस्दा आफूहरूलाई मोसन सिकनेस हुने सम्भावना धेरै रहेको उनीहरूले याद गरेका छन्।’
महिनामा करिब दुई जना बिरामीले विशेषगरी विद्युतीय गाडीमा मोसन सिकनेस भएको बताउने गरेको उल्लेख गर्दै उनी थप्छन्, ‘मैले यसबारे धेरै, धेरै, धेरै पटक सुनेको छु।’
तर यसको सम्भावित सम्बन्धबारे अनुसन्धान अझै प्रारम्भिक चरणमै छ। केही प्राज्ञिक व्यक्तिहरू निश्चित रूपमा केही भन्न पर्याप्त प्रमाण नभएको बताउँछन्।
युनिभर्सिटी अफ पिट्सबर्गमा मोसन सिकनेसबारे अनुसन्धान गरेका डा. बिल येट्सका अनुसार यस बिन्दुमा अनुसन्धानको अवस्था ‘निकै अपूर्ण’ छ।
‘केही सुनिएका जानकारीहरू मात्र छन्, तर अहिलेसम्म धेरै गम्भीर र विस्तृत अध्ययनहरू भएका छैनन्,’ उनी भन्छन्।
- ‘चलाउन गज्जब छ… तर मेरी छोरी बिरामी पर्छिन्’
लिङ्कनसायरका ४५ वर्षीय मार्क क्विगले गत वर्ष नयाँ गाडीको विकल्प खोज्दा कम सञ्चालन खर्चका कारण विद्युतीय गाडी सबैभन्दा राम्रो विकल्प लाग्यो।
मार्कका अनुसार उनको चम्किलो नयाँ विद्युतीय गाडी चलाउन ‘गज्जब’ छ। तर उनले छिट्टै एउटा कुरा याद गरे, गाडीमा बस्दा उनकी नौ वर्षीया छोरीको मोसन सिकनेस निकै बढ्न थाल्यो।
स्कुल बिदाको समयमा फ्रान्ससम्मको ६०० माइलको यात्रामा मात्र उनकी छोरीलाई वाकवाकी लाग्थ्यो। तर अहिले नजिकैको सहरसम्मको ३० मिनेटको यात्रामा पनि छोरीलाई असहज महसुस हुने उनी बताउँछन्।
हालैको एउटा यात्रामा उनकी छोरीले बान्ता नै गरिन्, जुन यसअघि कहिल्यै भएको थिएन।
मोसन सिकनेसले सबै ईभी यात्रुहरूलाई असर गर्दैन। धेरै गाडीधनीहरूले आफू र आफ्ना आफन्तहरू विद्युतीय गाडीमा बिरामी नपर्ने बताए। अन्य केहीले परम्परागत इन्धनबाट चल्ने गाडीको तुलनामा ईभीमा कम वाकवाकी लाग्ने बताए।
विद्युतीय सवारी चालकहरूको संस्था ईभीए इङ्गल्याण्डकी प्रमुख कार्यकारी अधिकृत विक्की एडमन्ड्स आफ्ना सदस्यहरूमाझ मोसन सिकनेस कुनै चिन्ताको विषय नभएको बताउँछिन्। उनी भन्छिन्, ‘यो कहिल्यै पनि समस्याको रूपमा आएको छैन।’
तर बेलायतभर सोरुमहरू भएको चिनियाँ विद्युतीय सवारी निर्माता एक्सपेङ्गले यसअघि नै यो मुद्दालाई सार्वजनिक रूपमा सम्बोधन गरिसकेको छ। विद्युतीय गाडी र यात्रा गर्दा हुने वाकवाकीबिचको सम्बन्ध याद गर्ने मानिसहरूलाई कम्पनीले भनेको छ, ‘यो एउटा जायज प्रश्न हो, र यो तपाईंको कल्पना मात्र होइन।’ विद्युतीय कारहरूको इन्जिनियरिङ कसरी गरिएको छ भन्ने कुराको ‘साइड इफेक्ट’का कारण यस्तो हुने कम्पनीले थप स्पष्ट पारेको छ।
- यसको कारण के हुन सक्छ?
डा. ह्याकका अनुसार ‘ज्ञानेन्द्रिय संकेतहरूमा हुने तालमेलको अभाव’का कारण मोसन सिकनेस हुन्छ। हामी चलिरहेका छौँ भनी थाहा पाउन हाम्रो शरीर मुख्य रूपमा तीनवटा ज्ञानेन्द्रिय संकेतहरूमा निर्भर हुन्छ। ती सङ्केतहरू हामीले देख्ने दृश्य, हाम्रो भित्री कानको सन्तुलन प्रणालीले महसुस गर्ने कुरा र हाम्रो शरीरका तन्तुहरूले थाहा पाउने संवेदनाबाट आउँछन्। जब यीमध्ये कुनै एकको अर्कोसँग तालमेल मिल्दैन, तब मोसन सिकनेस हुन सक्छ। उदाहरणका लागि, यदि तपाईं आफ्नो फोन हेरिरहनुभएको छ र झ्यालबाट बाहिर चालको दृश्य देखिरहनुभएको छैन भने त्यसले वाकवाकी ल्याउन सक्छ।
अनुसन्धानले विद्युतीय गाडीमा यो समस्या किन बढी गम्भीर हुन सक्छ भन्ने धेरै कारणहरू औँल्याएको छ।
विशेषज्ञहरूका अनुसार मानिसले गाडीमा आवाजलाई चालसँग जोडेर हेर्ने बानी विकास गरिसकेका हुन्छन्। हामी अभ्यस्त भइसकेको इन्जिनको आवाज र कम्पन विद्युतीय गाडीमा हुँदैन, जसले गाडीको गति बढिरहेको सङ्केत गर्थ्यो। डा. जियुलियोका अनुसार यही कारणले मोसन सिकनेसलाई बढवा दिन सक्छ।
अर्को कारण ‘रिजेनेरेटिभ ब्रेकिङ’ हो। यो यस्तो प्रक्रिया हो जहाँ चालकले एक्सेलेटर छोड्दा मोटरले जेनेरेटरको रूपमा काम गर्न थाल्छ। यसले प्रतिरोध सिर्जना गर्छ, जसले गाडीको गति कम गराउनुका साथै ब्याट्रीमा भण्डारण गर्न सकिने विद्युत् पनि उत्पादन गर्छ। एक्सेलेटरलाई बिस्तारै छोड्नुपर्छ, अन्यथा यसले अचानक गति कम गराउन सक्छ।







