साउने सोमबारी मेला
साउन महिनाको पहिलो सोमबार आज मिथिलाक्षेत्रका शिवालय भरिभराउ छन्। महोत्तरीको बर्दिबास नगरपालिका–५ टुटेश्वरनाथ मन्दिर क्षेत्रमा आज बिहानैदेखि शिवको दर्शन गर्न आउने भक्तजनको घुइँचो लागेको छ। मिथिलामा सौरमास र चन्द्रमास दुवैभित्र परेको साउने सोमबारको खास महत्व हुन्छ।
मेला व्यवस्थापन समितिका अध्यक्ष एवं बर्दिबास–५ का वडाध्यक्ष काहारमान स्याङ्वाका अनुसार टुटेश्वरनाथ साउने मेलाको मुख्य संयोजन यसपालिदेखि बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रबद्र्धन समितिले गर्न थालेको छ।
जिल्लाका प्रसिद्ध शिवालय जलेश्वरस्थित जलेश्वरनाथ, भङ्गाहा–५ स्थित सिद्धनाथ महादेव मन्दिर, मगरथानास्थित मंगलनाथ महादेव मन्दिर र बर्दिबास–३ राइमण्डलधामस्थित इन्द्रेश्वरनाथ महादेव मन्दिरमा पनि भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ।
यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले टुटेश्वरनाथ महादेव मन्दिरको पूर्वाधार विकास र प्रचारप्रसारबाट स्थानीय अर्थतन्त्र मजबुत बनाउन सकिने बताए। टुटेश्वरनाथ महादेवको पूजाअर्चनापछि उनले मन्दिरमा आन्तरिक पर्यटक आकर्षण बढाउन सके स्थानीयको जीविकोपार्जनमा सघाउ पुग्ने उल्लेख गरे।
पश्चिमको बागमती र पूर्वको कमलाको जलार्पण हुने टुटेश्वरनाथ महादेव मन्दिरको बेग्लै साँस्कृतिक महत्त्व रहेको मुख्यमन्त्री सिंहले उल्लेख गर्दै शिवालयको प्रवद्र्धनका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरे काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा उनलाई बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्रीले मन्दिरको बारेमा जानकारी गराएका थिए।