भोलिदेखि काठमाडौं महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी
काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । आदिपुरुष’ चलचित्रमा भएको विवादित संवाद भारतमा नहटाइएपछि महानगरका हलहरूबाट सबै भारतीय फिल्म रोक्ने तयारी गरेको हो।
मेयर शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिने भएको छ । ‘मेयरको निर्देशनपछि भोलिदेखि काठमाडौं महानगरका सबै हलमा भारतीय फिल्मको प्रदर्शन रोक्ने निर्णय भएको छ । यसका लागि नगर प्रहरी आजैदेखि खट्नेछन्,’ सचिवालयले भन्यो ।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई भारतमा सच्याउन मेयर शाहले फेसबुक स्टाटसमार्फत तीन दिनको अल्टिमेटम दिएका थिए । आइतबार तीन दिन सकिंदासम्म उक्त संवाद नसच्चिएको भन्दै बालेनले सोमबारदेखि भारतीय फिल्म रोक्न निर्देशन दिएका हुन् ।
काठमाडौंका मेयर बालेन शाहले शुक्रबार सूचना तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कुटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन लगाउन आग्रह गरेका थिए।’तीन दिन बितिसक्दा पनि भारतमा प्रदर्शन भइरहेको उक्त विवादित अंश फिल्मबाट हटाइएको छैन,’ स्रोतले भन्यो, ‘आज सबै हलहरूमा नगर प्रहरीहरूले भोलिदेखि भारतीय फिल्म प्रदर्शन नगर्न आग्रह गर्नेछ।’







