यी तीन प्रेदेशमा धेरै भारी वर्षा हुने सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार बिहान सातै प्रदेशका विभिन्न भूभागमा पानी परिरहेको छ।
महाशाखाका अनुसार पछिल्लो एक घन्टामै चितवनको कालीखोलामा ३३.२ मिलिमिटर वर्षा भएको छ। सर्लाहीको मनुसमरामा २२.८ मिलिमिटर, नवलपुरको कोटागाउँमा १४.८ मिलिमिटर, चितवको देवघाटमा १२ मिलिमिटर, काभ्रेको रोशीमा १३ मिलिमिटर, धनुषाको हार्दिनाथमा ९.२ मिलिमिटर वर्षा भएको छ।
पछिल्लो चौबीस घन्टामा बर्दियाको तारातालमा १३३.४ मिलिमिटर, कतारनिया ढकैलामा ९०.६ मिलिमिटर, चितवनको कालीखोलामा ७८.६ मिलमिटर, भक्तपुरको टःथलीमा ६७.२ मिलिमिटर, कास्कीको लामापाटनमा ६८.४ मिलिमिटर वर्षा मापन भएको छ।
अन्य थुप्रै स्थानमा मध्यमदेखि भारी वर्षा मापन भएका छन्।
सोमबार दिउँसो हिमाली केही स्थान र पहाडी भूभागको धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।
महाशाखाले बागमती र गण्डकी प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा मधेश प्रदेश साथै कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जनाएको छ।
दिउँसो नै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
गण्डकी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना पनि छ।
सोमबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति नै कर्णाली प्रदेशका पहाडी भू-भाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केहि स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा हुने पूर्वानुमान छ।
त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू-भाग, तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति नै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।
मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्यो भने अति भारी वर्षा भनिन्छ।







