एमाले बैठकमा केपी ओली र पृथ्वीसुब्बा गुरूङबीच चर्काचर्की
नेकपा एमालेको आठौं सचिवालय अन्तर्गत शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङबीच चर्काचर्की परेको छ।
शुक्रबार गुण्डुमा बसेको बैठकमा अध्यक्ष ओलीले पार्टी आन्दोलन र नेतृत्व संकटमा परेका बेला आन्दोलनको रक्षा र नेतृत्वको प्रतिरक्षा गर्नुपर्नेमा पुनर्गठनको अभियान चलाएको भन्दै आक्रोश पोखेका थिए।
‘नेतृत्वको रक्षा नगर्ने, पार्टी आन्दोलनको रक्षा नगर्नेहरूलाई केको जिम्मेवारी? नेतृत्वको रक्षा गर्न नसकेकामा लिखित क्षमायाचना गरेपछि मात्रै जिम्मेवारी पाइन्छ। यस्तो बेला पुनर्गठन, पुनर्गठन भनेर हिँड्नेहरूलाई पनि अनुशासनको कारबाही हुन्छ’ भन्ने प्रकारका भाषा प्रयोग गर्दै ओलीले चेतावनी दिन थालेपछि उपाध्यक्ष गुरूङले प्रतिवाद गरेका थिए।
‘एमाले तपाईंले मात्रै बनाएको पार्टी हो? एमाले तपाईंको प्राइभेट कम्पनी हो? यो पार्टीमा हाम्रो योगदान, भूमिका छैन, अरू साथीहरूको पनि छैन? कसलाई दिनुभएको धम्की’ भन्दै उपाध्यक्ष गुरूङले प्रतिवाद गरेका दिए।
अध्यक्ष ओली र गुरूङबीच केही बेर भनाभन नै भएपछि बैठकको माहौल अशान्तजस्तो देखिएको नेताहरूले बताएका छन्।
आजको बैठकमा ओलीलाई पहिलो वरीयताका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले ऊर्जा दिएका थिए। उनले ‘डिप स्टेट’ ले एमालेको सरकारविरूद्ध षड्यन्त्र गरेको, नेपाली सेना लगायत सुरक्षा अंग त्यसको मतियार बनेको आरोप लगाएका थिए।
‘देशी, विदेशी प्रतिक्रियावादीको घेराबन्दीमा हाम्रो नेतृत्व पर्नुभयो। उनीहरूकै भूमिकाका कारण हामी चुनावमा पराजित भयौं। नेपाली सेनाले सफ्ट कू गरेकै अवस्था हो,’ उनले भनेका
थिए, ‘हाम्रो नेतृत्वमाथि अझै पनि षड्यन्त्र र घेराबन्दीको सिलसिला जारी छ। हामीले नेतृत्वको रक्षा गर्नुपर्छ।’
बादलले यसो भनेपछि ओली उत्साहित सुनिएका थिए।
‘बादलजीले भनेको कुरा ठिक हो। उहाँको कुरामा म समर्थन गर्छु। उहाँले पार्टी बैठकमा बोलेका कुरा सही छन्। संसदमा बोलेको कुरा पनि ठिक थियो। किन सच्याइयो?’ उनले प्रश्न गरेका थिए।
उपाध्यक्ष विष्णु पौडेलले अहिलेको परिस्थितिको समग्र समीक्षा हुनुपर्ने र पार्टी पुनर्गठन गर्नुपर्ने धारणा राखेका थिए। उनले पहिलो विधान महाधिवेशन, दसौं राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टी लोकतान्त्रीकरणको विषय; कार्यकारी कमिटीमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउनु त्रुटिपूर्ण रहेको भन्दै यो प्रावधानलाई पुनः पार्टी आन्दोलनको अंग बनाउनुपर्ने धारणा राखेका थिए।
उनले आफूले उठाउँदै आएको पार्टी संगठन र नेतृत्व पुनर्गठनको विषयलाई सचिवालय बैठकमा राखेका थिए।
उनले २०७५ सालमा नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रबीच हतारमा एकता भएको बताएका थिए। हतारमै भएको एकता पनि जोगाउन सकेको भए वामपन्थी तथा कम्युनिस्ट आन्दोलन समृद्ध हुने भन्दै नेतृत्वले त्यो घटनाप्रति आत्मालोचित हुनुपर्ने समेत बताएका थिए।
पृथ्वीसुब्बा गुरूङले पनि अहिलेको परिस्थिति मूल्यांकन गर्नुपर्ने धारणा राखेका थिए। पार्टी कमजोर अवस्थामा रहेको भन्दै समीक्षा गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो। उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्तले पनि पार्टीको कार्यशैली, नीति, दृष्टिकोणमा बृहत् समीक्षा गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए।
आठौं सचिवालय बैठक शनिबार पनि बस्नेछ। शनिबारको बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिव र सचिवहरूले धारणा राख्नेछन्। उपमहासचिव लेखराज भट्टले बैठकमा अहिलेसम्मकै सघन छलफल भएको बताए।
‘आज उपाध्यक्षहरूले राम्रैसँग विषय राख्नुभयो। यसरी छलफल भएको पहिलोपटक होला। खुलेर आफ्नो विचारहरू प्रस्तुत गर्नुभएको छ। लामो छलफल भएको छ। भोलि हाम्रो पालो आउँछ,’ उनले भने।
उनले कार्यविभाजन प्रस्तावमा सुझाव आउनसक्ने र आवश्यक पर्दा संशोधन हुन सक्ने धारणा राखे।
सचिवालय बैठक शनिबार बिहान ११ः३० बजे ओली निवास गुण्डुमै बस्नेछ।







