४ दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार

काठमाडौं । शेयर बजारमा ४ दिनको लगातार गिरावटपछि सोमबार केही सुधार देखिएको छ । नेप्से सूचक सोमबार ८.१३ विन्दुले बढेर २६०४.११ अंकमा पुगेको छ ।
यसदिन सोमबार ६ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भयो । अघिल्लो कारोबार दिन अर्थात आइतबार ९ अर्ब १४ करोडको शेयर खरिदबिक्री भएको थियो ।
आजको बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, यस दिन पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५२ करोड १८ लाख ५९ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको ४२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम साढे ३३ करोड नाघेको छ।







