कारसँग ठोक्किँदा त्रिशूलीमा खस्यो बस, २० घाइते
काठमाडौं–पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुई सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर रहेको छ। नेपालगञ्जबाट काठमाडौं आइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको हो।
काठमाडौंबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो।
कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको धादिङ प्रहरीलाई उद्धृत गर्दै नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन् । बसमा ४५ जना यात्री थिए। सबै यात्रीको अवस्था सामान्य छ। गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले बताए।







