ब्याजदर नियन्त्रण गर्न अर्थमन्त्रीले बनाए समिति
बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याज बढाएपछि अर्थमन्त्री शर्माले मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा ७ सदस्यीय ब्याजदर अध्ययन समिति गठन गरेका हुन्
काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाले असोजका लागि आफूखुसी १० प्रतिशतसम्म ब्याजदर बढाएपछि त्यसलाई नियन्त्रण ७ सदस्यीय ब्याजदर अध्ययन समिति गठन गरेका छन् ।
आइतबार अर्थ मन्त्रालयमा राष्ट्र बैंकका प्रतिनिधि, बैंकर्स संघ, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिलाई बोलाएर मन्त्री शर्माले ब्याजदर वृद्धिबारे छलफल गरेका हुन् ।
सोही छलफलमार्फत मन्त्री शर्माले अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा ७ सदस्यीय ब्याजदर अध्ययन समिति गठन गरेका हुन् । उक्त समितिलाई ब्याजदर वृद्धिसम्बन्धी अध्ययन गरी ५ दिनभित्रै अध्ययन प्रतिवेदन बुझाउन मन्त्री शर्माले निर्देशन दिएका छन् ।
समितिमा राष्ट्र बैंकबाट १ जना, बैंकर्स संघबाट २ जना, आपूर्ति मन्त्रालयबाट १ जना, तीन वटै व्यावसायिक संगठनबाट १÷१ जना गरी ७ जना रहनेछन् । सदस्य सचिवमा अर्थमन्त्रालयका उपसचिव रहेका छन्। समितिमार्फत प्राप्त अध्ययन प्रतिवेदनले औंल्याएको विषयमा थप छलफल गरी ब्याजदर संशोधनका लागि राष्ट्र बैंकमार्फत बैंकहरूलाई निर्देशन दिइने अर्थ मन्त्रालयले बताएको छ ।
असोजका लागि बैंकहरूले यसअघिको भद्र सहमति तोड्दै आफूखुसी ब्याजदर वृद्धि गरेसँगै उद्योग व्यवसायी असन्तुष्ट बनेका छन् ।







