सुरु भयो दिपक–दिपाको ‘छक्का पञ्जा ३’,
दिपिकासँगै पुष्पको प्रवेशहाँस्यकलाकार तथा हिट निर्देशक दीपाश्री निरौलाको निर्देशनमा बन्ने तेश्रो चलचित्र ‘छक्का पञ्जा ३’को छायांकन सुरु गरिएको छ । शुक्रबार भक्तपूरको सूर्यवनायक मन्दिरमा मुहर्त गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो ।
चलचित्रको छायाँकन केही दिन काठमाडौँ र त्यसलगतै उपत्यका बाहिर हुने छ । चलचित्रमा यस पटक नायक र नायिका फेरिएका छन् । अघिल्लो सिरिजमा जस्तै दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, अनुराग कुवर, शिशिर राणा, शिशिर बाग्देल, शारदा गिरी, प्रियंका कार्की लगायतका कलाकारको अभिनय रहने छ । त्यस्तै नायिका दिपिका प्रसाई र नायक पुष्प खड्का यसपटकका लागी नयाँ कलाकार हुन् । चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गर्ने छिन् । चलचित्रमा निर्माताका रुपमा सुमन गिरी भन्जा, किरण केसी, शिवहरी पौडेल, पुरुषेतम प्रधान, तारा चन्द्र बजगाई, दिपेन्द्र खनिया र केशव न्यौपाने रहेका छन् भने कार्यकारी निर्मातामा जितु नेपाल र केदार घिमिरे रहेका छन् ।
कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी रहने चलचित्रमा रोशन श्रेष्ठको द्वन्द, पुरुषोत्तम प्रधानको छायांकन, दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, यमन श्रेष्ठको संवाद रहेको छ । ‘छक्का पञ्जा ३’ को कथा दीपकराज आफैंले लेखेका हुन् ।







