संविधान संशोधन गरेर अगाडि बढ्नु नै उत्तम विकल्प : डा कोइराला
काठमाडौँ, १८ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संविधान संशोधन गरेर अगाडि बढ्नु नै देश र जनताप्रति उत्तम विकल्प भएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन काठमाडौँ शाखाले राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन र राष्ट्रिय मेलमिलापको सान्दर्भिकता’ विषयक अन्तक्र्रियामा बोल्दै डा कोइरालाले सबै दलको सहमतिमा संविधान संशोधन गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
डा कोइरालाले नेकपा (एमाले)लाई बाहिर राखेर संविधान संशोधन गर्न नमिल्ने बताउँदै भन्नुभयो – “नेकपा (एमाले)ले आफूलाई लोकतान्त्रिक पार्टी ठान्ने तर संसद् अवरुद्ध गर्नु ठीक काम होइन ।”
डा कोइरालाले हतारमा संविधान घोषणा हुँदा मुलुकमा समस्या उत्पन्न भएको भन्दै सबै राजनीतिक दललाई मिलाएर अगाडि बढेमात्र मुलुकले निकास पाउने बताउनुभयो ।
उहाँले २०७४ माघ ७ गतेसम्म तीनवटै निकायको निर्वाचन गर्न सम्भव भएको बताउँदै यसका लागि सबै राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । रासस







