फिल्मको पाइरेसी रोक्न बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी’ डेस्क स्थापना गर्ने
काठमाडौँ । : चलचित्र विकास बोर्डले हटलाइन नम्बर सहितको ‘सिनेमा साइबर सेक्युरिटी’को लागि डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ। सामाजिक सञ्जालमा फिल्म पाइरेसी बढेपछि बोर्डले डेस्कको लागि सिस्टम विकासको काम सुरु गरेको हो।
मंगलबार बोर्डमा आयोजित समारोहमा अध्यक्ष भुवन केसीले फेसबुक, युट्युव र टिकटकजस्ता प्लेटफर्ममा फिल्म पाइरेसी हुँदा निर्मातालाई ठूलो आर्थिक क्षति पुगेकाले यो चुनौति रोक्न कदम चालिएको बताए ।‘सामाजिक संजालले निर्मातालाई दर्शकसामु पुग्न जति सजिलो भएको छ त्यति नै यसले साइबर सुरक्षाको विषयमा नयाँ चुनौति खडा गरेको छ’ केसीले भने, ‘यसले हाम्रो उद्योगलाई नोक्सान पुर्याएको छ ।’
नेपाली चलचित्र र चलचित्रकर्मीहरुले भोगिरहेका साइबर खतराहरू न्यूनीकरण गर्न बोर्डले नेपाल सरकार, नेपाल प्रहरी, चलचित्र निर्माताहरू, सामाजिक सञ्जाल प्लेटफर्महरू र अन्य सरोकारवालाहरूसँग मिलेर काम गर्ने केसीले बताए।







