‘२.० छड्के’ फ्लप भएपछि अनमोलले माफी माग्दै भने– ‘छड्के २’ मा म चुक्न पुगेँ
अभिनेता अनमोल केसीले आफ्नो फिल्म ‘२.० छड्के’ बक्स अफिसमा फ्लप भएपछि आफू नवौं फिल्ममा चुकेको बताएका छन्।
आफ्नो फिल्म ‘छड्के २’ ले दर्शकलाई निराश बनाएको भन्दै उनले सामाजिक संजाल मार्फत माफी मागेका हुन् । दर्शकका कारण आफु अहिलेको अवस्थामा आइपुगेको बताएका उनले आफ्नो कारणले दर्शक निराश हुँदा झनै दुःखी भएको बताएका हुन् ।
मैले २.० छड्केमार्फत मलाई माया गर्ने दर्शकहरूलाई निराश बनाएँ, जुन दर्शकहरूको साथको कारण म यहाँ आइपुगेँ उहाँहरूलाई निराश बनाउँदा म झनै दुखी भएको छु। यो मेरो नवौं फिल्म थियो। नवौं फिल्ममा आइपुग्दा म झनै परिपक्व हुनुपर्थ्याे। यहाँ आएर म चुक्न पुगेँ,’ उनले लेखेका छन्।
उनले आफू अन्य फिल्ममा राम्रो काम गर्ने बताउँदै लेखेका छन्, ‘विश्वस्त हुनुस्, यो समय पनि बितेर जान्छ। घाम डुबेपछि फेरि भोलि नयाँ बिहानी हुन्छ। म भोलिको सुनौलो बिहानी मेरा दर्शकसँग साट्नेछु। दुखेको घाउहरूमा मल्हम लगाउने छु।’
अनमोलले आफ्नो दशौं फिल्म आफ्ना लागि पहिलो हुने समेत वाचा गरेका छन् ।याे फिल्म रिलिजकाे ६ दिनमै मल्टिप्लेक्स हलबाट उत्रिएको थियाे।







