अभिनेता सुशान्त सिंह राजपूतको हत्या भएको दाबी
साढे दुई वर्षअघि आफ्नै फ्ल्याटमा मृत भेटिएका बलिउड अभिनेता सुशान्त सिंह राजपूतको हत्या भएको दाबी गरिएको छ।प्रहरीले उनको मृत्युलाई आत्महत्या भन्दै केस बन्द गरे पनि अस्पतालका कर्मचारीले हत्या भएको दाबी गरेका छन्।
भारतीय सञ्चार माध्यम बलिउड लाइफका अनुसार कूपर अस्पतालको शवगृहका कर्मचारी रूपकुमार शाहले अभिनेता सुशान्तको हत्या भएको दाबी गरेका हुन्। उनी सुशान्तको पोस्टमार्टममा सहभागी थिए।
‘सुशान्तको शव पोस्टमार्टमका लागि ल्याउँदा उनको शरीरमा चोटपटक लागेको थियो। उनको घाँटीमा पनि दुई/तीन वटा चोट थियो। यस पूरै प्रक्रियालाई रेकर्ड गर्न आवश्यक थियो तर उच्च अधिकारीहरूले शरीरको मात्र तस्बिर लिन आदेश दिएका थिए। मैले उनीहरूले दिएको आदेश पालना गर्नुपर्याे,’ उनले भने।
१४ जुन सन् २०२० मा अभिनेता सुशान्त बान्द्राको आफ्नै फ्ल्याटमा झुन्डिएको अवस्थामा भेटिएका थिए। सुरुमा घटनालाई आत्महत्या भने पनि मिडिया र सामाजिक सञ्जालको दबाबका बीच घटनाको अनुसन्धानको जिम्मा सिबिआईलाई सुम्पिएको थियो।