मतदाता रिझाउन दाहालको प्रतिबद्धतापत्र
कार्तिक ३०, २०७४-चितवन क्षेत्र ३ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले मतदाता रिझाउन महत्त्वाकांक्षी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । मंगलबार भरतपुरमा उनले जिल्लाका विकास योजना समेटिएका दस बुँदे प्रतिबद्धता सुनाएका हुन् ।
आगामी समयलाई औद्योगिकीकरण, कृषि आधुनिकीकरण, सडक, रेल, विद्युत्, टेलिफोन र इन्टरनेट सञ्जाल, रोजगारी, आवास, स्वास्थ्य, शिक्षा, मनोरञ्जनमा आममानिसको पहुँच विस्तार गरेर समाजवाद उन्मुख आर्थिक सामाजिक विकासको वर्षका रूपमा अघि बढाइने उनको भनाइ छ । दाहालले समृद्ध चितवनका लागि ७ वटा पालिका जोडेर ‘चितवन मेट्रो सिटी’ बनाउने खाका प्रस्तुत गरेका छन् । प्रतिबद्धतापत्रमा उद्योग, कृषि, सेवा, यातायातलगायत क्षेत्रबाट आगामी ५ वर्षभित्र ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने उल्लेख छ । भूमिहीन सुकुम्बासीलाई पहिलो प्राथमिकतासाथ हाल बसोबास गरेकै क्षेत्र वा पायक पर्ने स्थानमा बहुतलाको आधुनिक आवासगृह निर्माण गरी वितरण गरिने जनाइएको छ ।
कालिका नगरपालिकामा ‘औद्योगिक क्षेत्र’ को समग्र विकासका लागि एकीकृत योजना बनाउने, शक्तिखोरमा फराकिलो सडक, खानेपानी, विद्युत्, सञ्चार पुर्याइने, ठोरी नाकालाई व्यवस्थित बनाई भारतसँगको व्यापार तथा सुक्खा पारवहनलाई नियमित गरिने, आगामी ५ वर्षमा माडी र बाँकी चितवन जोड्ने गरी निकुञ्जमा सुरुङमार्ग वा सडक बनाउने र रिउ करिडोरलाई पूर्णता दिने उल्लेख छ ।
यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयका रूपमा अघि बढाइने, कृषि उब्जनी वृद्धि गर्न विश्वविद्यालयसँग सहकार्य गरी ‘कृषक पाठशाला’ सञ्चालन गरिने, जिल्लाका कम्तीमा २५ प्रतिशत विद्यालयलाई नमूना बनाइने, गरिब तथा न्यून आय भएका अभिभावकका बालबालिकाको शिक्षाका लागि तत्काल मन्टेस्सरी कक्षासहितको सामुदायिक विद्यालय स्थापना गरिने दाहालले जनाएका छन् ।
चितवनमा मेट्रो/मोनो रेलको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाउने, मेघौलीस्थित विमानस्थल स्तरोन्नति गरी सञ्चालनमा ल्याउने, नारायणी र राप्ती नदीमा तटबन्धन गरी फराकिलो रिङरोड बनाउने, शारदानगरमा अन्तर्राष्ट्रिय स्तरको खेलकुद रंगशाला र अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जन पार्क बनाउने दाहालको योजना छ । देशको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा रहेको जिल्लाको समग्र विकास गर्दै राष्ट्रिय निकुञ्ज, तालतलैया, सामुदायिक वन, कृषि तथा जडीबुटी फार्म, औद्योगिक क्षेत्र, शिक्षालय, पहाडी पदयात्रा, जंगल पदयात्रा, साहसिक पर्यटनको प्रवद्र्धन गर्ने, देवघाट, मौलाकालिका क्षेत्रलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न गुरुयोजना तयार गर्ने उनले जनाएका छन् । जिल्लालाई स्वास्थ्यसेवामा देशकै प्रमुख केन्द्रका रूपमा विकास गर्न बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्तरोन्नति, भरतपुर अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने, क्षयरोग, मलेरिया, डेंगु, एचआईभीलगायत संक्रामक रोगविरुद्ध प्रभावकारी कदमका लागि केन्द्रीय स्तरमा विशेष कार्यक्रम चलाउने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
source ; kantipur








