घुमिफिरी रुम्जाटार’ : उखान हैन वास्तविकता
कार्तिक २६, २०७४-रुम्जाटारको कोदोको पिठो
निर्गुनको दाउन
धर्म र कर्म गुरुङले गर्याे
छक्क पर्याे बाहुन
कवि ज्ञानदिल दासले धेरै वर्ष अघि कोरेको यो कविता रुम्जाटारमा अहिले पनि उतिकै प्रख्यात छ । रुम्जाटारका फांँटमा यतिबेला लहलह कोदोको बाला झुलेको छ । अनि यहाँंको गुरुङ परिवार धर्मप्रति पनि उतिकै कटिवद्ध छन् । स्थानीय बालकृष्ण गुरुङका अनुसार हुनेखाने गुरुङ परिवारले बेलाबखत सप्ताह ज्ञानमहायज्ञ लगाउने प्रचलन अहिले पनि छ । यस अर्थले कवि दीपदासले रचना गरेको यो कविता रुम्जाटारको हकमा इतिहास नभएर वर्तमान बनेको छ ।
जिल्लामा वाम गठबन्धन र कांग्रेसबीच मुख्य चुनावी टक्कर चलीरहेका बेला रुम्जाटारका बासिन्दालाई भने कोदो भित्र्याउने चटारोले छोपेको छ । ‘उम्मेदवारहरु नमस्कार गर्दै बारीमै मत माग्न आउँछन्,’ बारीमा कोदो काट्दै गरेकी स्थानीय मित्रतादेवी गुरुङले भनिन्, ‘कांग्रेस र एमालेको चुनावी सभा पनि हुनेगर्छ । तर कोदो भित्र्याउने बेला भएकाले नेताहरुले के-के भनेका छन् सुन्न भ्याएको छैन, मतदान गर्न त जानै पर्ला ।’
रुम्जाटारकै एमालेका अम्बिरबाबु गुरुङ वाम गठबन्धनबाट उम्मेदवार छन् । उनी प्रदेश ‘क’ बाट उम्मेदार छन् । प्रतिनिधिसभामा कांग्रेसका उम्मेदवार रामहरी खतिवडा यहिँ रुम्जाटार स्कुलबाट एसएलसी दिएका हुन् । त्यसैकारण पनि रुम्जाटारमा चुनावी माहोल बढेको स्थानीय बताउँछन् । घर—घरमा पार्टीका झन्डा, ब्यानर, पोष्टर टाँसिएका/टांगिएका छन् । एउटै घरमा कांग्रेस र एमालेका पाम्प्लेट, पोष्टर समेत टांगिएको देख्न सकिन्छ । तर, स्थानीयलाई भने चुनावको रन्कोसंगै कोदो बाली भित्र्याउ नै भ्याईनभ्याई छ ।

रुम्जाटारमा हुने मुख्य बाली भनेकै कोदो र मकै हो । एउटै घरले १५/२० मुरी कोदो भित्र्याउने गर्छ । मकैभन्दा पनि कोदो बाली यहाँ बढी प्रख्यात छ । रुम्जाटारको कोदो रसिलो मानिन्छ । त्यसैकारण यहाँको कोदोलाई बजारको समस्या छैन । खासगरी पर्यटकीय गन्तव्य रहेका हिमाली क्षेत्रमा कोदोको माग अधिक छ । तुम्बा, जाँड, रक्सी, ढिडोको लागि यहाँको कोदो पर्यटकीय स्थल सोलुखुम्बुका विभिन्न भागमा बढी निकासी हुन्छ । पछिल्लो समयमा लुक्लाबाट बढी माग आउने गरेको स्थानीय नरवहादुर श्रेष्ठ बताउंँछन् ।
बाइसे–चौबिसे राज्य भएका बखत किरात वंशले राज्य गरेको यो ऐतिहासिक भूमिमा अहिले भने गुरुङ बस्ती बाक्लो छ । पृथ्वीनारयण शाहले बाइसे–चौबिसे राज्यलाई एक बनाउने क्रममा रुम्जाटारमा आक्रमण गर्दा किराँतीहरु भागेर अन्यन्त्र गएका र पछि गुरुङहरुलाई यहाँ ल्याएर बसोबास गराइएको भन्ने इतिहास छ । अहिले यो गाउँमा करिव ४६ प्रतिशत गुरुङ छन् भने अन्य जाती करिव ५४ प्रतिशतको बसोबास छ ।
रुम्जाटारलाई लाहुरे बस्ती भने पनि हुन्छ । हरेक गुरुङ घरमा कोही न कोही लाहुरे छन् । पहिलो प्राथमिकता ब्रिटिस आर्मीमा जाने, नभए भारतीय र नेपाली सेनामा भएपनि भर्ति हुने प्रचलन छ ।
शनीबार रुम्जाटारमा हामी पुग्दा स्थानीय लक्ष्मीदेवी गुरुङ एक्लै घर रुघीरहेकी थिइन् । श्रीमान पार्टीको कार्यक्रममा भाषण सुन्न गएका थिए । उनका दुईटा छोरा ब्रिटिश आर्मीमा लाहुरे छन् । श्रीमान् पनि रिटायर्ड लाहुरे हुन् । अर्को एउटा छोरा बैंकमा जागिरे छन् । उनी भन्छन, ‘गाउँमा त बुढाबुढी मात्रै छन् भनेपनि हुन्छ । युवाहरु त सबै विदेश र काठमाडौ तिर छन् ।’

स्थानीय गंगाराम गुरुङका अनुसार ५ हजार बढी मतदाता हुनुपर्ने गाउँमा १९ सय ३७ मात्रै छन् । करिव ७० प्रतिशत युवाहरु रोजगारीका लागि बाहिर छन् । कतिपय छोराछोरी पढाउन काठमाडौंमा छन् । ‘डेढ सय घर त यहिँका गुरुङको बेलायतमा घर छ । श्रीमती, छोराछोरी र अधिकांशले बाबुआमा समेत बेलायत लगेर राखेका छन्’ रित्ता पुराना घरहरु देखाउँदै उनले भने, ‘तैपनि आफ्नो पुख्र्यौली सम्पति भने बेचेका छैनन् ।’
सदरमुकाम कच्ची सकड पार गरेर यहाँ आउन करिव एक घण्टा लाग्छ । ओखलढुंगाको विमानस्थल पनि यसै ठाउंँमा छ । जुन चार महिना अघि देखि बन्द भएको छ । सदरमुकामसंँग आउजाउ गर्ने बाटोको असुविधा र समयमै जाहाज नआउने कारणले विमानस्थल बन्द हुन पुगेको हो ।
जतिसुकै सम्पन्न भएपनि यहाँका बासिन्दाले आफ्नो पूख्यौली सम्पति भने बेचेका छैनन् र बेच्न पनि चाहँदैनन् । सदुरमबाट जोडिएको कच्ची बाटो दश मिटर फराकिलोसहित अबको १८ महिनामा पीच गर्ने योजना अघि बढेको छ । यसले रुम्जाटारको अनुहार नै चम्काउने श्रेष्ठ बताउंँछन ।
‘पानी घरघरमा आएको छ । स्कुल राम्रो छ । कृषि, भेटनरी, सिभिल इन्जिनियर पढ्नका लागि क्याम्पस छ, बाटो पीच भयो भने सबै सम्भावना खुल्ने देखिन्छ,’ श्रेष्ठले भने, ‘यहिँ देखेर नै स्थानीयले जग्गा बेचेका छैनन् । बेचेको भए त प्लानिङ गरेर यो फांँट उहिल्यै कंक्रिटको जंगल भइसक्थ्यो ।’

वैकल्पिक सदरमुकामको रुपमा लिईएको रुम्जाटारमा मत माग्न नेताहरु अघिल्लो पटक जस्तै जिल्लाको विकास योजना लिएर आइपुगेका छन् । वाम गठबन्धनबाट प्रतिनिधिसभामा उम्मेदवार रहेका यज्ञ सुनुवार र कांग्रेसका रामहरि खतिवडा दुवैले जनताको मत जित्न विकास निर्माणलाई नै मुख्य मुद्दा बनाएका छन् ।
रुम्जाटारको एयरपोर्ट पीचमा समेत यी दुवै आ–आफूले गरेको दाबी गर्छन् । रुम्जाटारको मुख्य माग सिंचाई, स्वास्थ्य, शिक्षा र बाटो नै छ । यति पूर्वाधार बनेमा गाउंँ छाडेर गएकाहरु पुन: गाउँ फर्कने उनीहरुको तर्क छ ।
‘कतिपय गाउंँलेहरु काठमाडौंको धुलो र धुवाँबाट आजित भएर गाउँ फर्केका छन्,’ गंगाराम गुरुङले भने, ‘यति विकास भयो भने त धेरै फर्कन्छन् ।’
रुम्जाटारमा सिंचाई भएमा यहाँको मानिसको जीवनस्तरको कायकल्प नै फेरिने देखिन्छ । सिंचाई योजना अघि नबढेको पनि होइन । केही वर्ष अघि कृषि समूहले सिंचाईका लागि सोलुबाट नहर ल्याउने योजना बनाएको थियो । सोलु खोलाको पानी ल्याएर विद्युत निकाल्ने र त्यसैबाट सिंचाई गर्ने योजना बनेको थियो । तर, सोलुको पानी यहाँं ल्याई पुर्याउन करिव ९ किमी त भूमिगत सुरुङ खन्न नै पर्ने भयो । लगानिको स्रोत जुटाउने समस्या परेपछि यो योजना त्यसै हरायो । अहिले चुनावका बेला सिंचाईको योजना गाउँलेहरुले पुन: चर्चामा ल्याएका छन् । तर, उम्मेदवारहरुले यसलाई चुनावी मुद्दा बनाएका छैनन् ।
‘घुमीफिरी रुम्जाटार’ भनेजस्तै नेताहरु मत लिनका गाउँमा आउँछन् । स्थानीय गंगाराम गुरुङले भने, ‘अहिले त भन्छन्, तर चुनाव जितेर गएपछि सबै योजनाहरु हराउँछन् ।’
source ; kantipur







