Breaking News Saturday, 4 Jul, 2026
Prestige Media

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

प्रमुख विपक्षी नेता तथा संवैधानिक परिषदका सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्त सिफारिस प्रक्रियामा प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष बालेन शाहले अपनाएको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।

संवैधानिक निकायमा नियुक्ति गर्दा परिषद सदस्यहरूसँग संवादको शैली अपनाउनुपर्नेमा त्यसो नगरिएको भन्दै उनले प्रधानमन्त्रीको शैलीप्रति सैद्धान्तिक असहमति जनाए।

परिषदको शुक्रबार बसेको बैठकमा आङ्देम्बेले संवेदनशील संवैधानिक निकाय निर्वाचन आयोग लामो समय रिक्त रहन नहुने तर नियुक्तिको प्रक्रिया अघि बढाउनुअघि परिषदका सदस्यहरूसँग पर्याप्त छलफल हुनुपर्ने उनको भनाइ थियो।

‘निर्वाचन आयोगजस्तो संवैधानिक निकाय रिक्त राख्नु हुँदैन, त्यसमा मेरो पनि सहमति छ,’ उनले प्रधानमन्त्री बालेनलाई भने, ‘तर तपाईंको जुन खालको शैली छ, त्यसमा सैद्धान्तिक असहमति त छँदै छ। प्रमुख आयुक्तसँगै आयुक्त सिफारिस गर्ने विषयमा यसअघि नै छलफल गर्नुपर्थ्यो। त्यसो नगरेकोमा मेरो घोर आपत्ति छ।’

आङ्देम्बेको यस्तो असन्तुष्टिपछि प्रधानमन्त्री बालेनले आफूले व्यक्तिगत रूपमा संवादको प्रयास गरेको दाबी गरे।

मैले छुट्टाछुट्टै संवाद गर्न खोजेको थिएँ। श्रीमान (प्रधानन्यायाधीश) सँग पनि कुरा गर्न खोजेको थिएँ। तर बाहिर उल्टो अर्थ लगाउने रहेछन्,’ उनको भनाइ उदृत गर्दै परिषदका एक सदस्यले भने।

प्रधानमन्त्रीको जबाफप्रति पुनः प्रतिक्रिया दिँदै आङ्देम्बेले त्यसो भए विपक्षी नेता, सभामुख र राष्ट्रियसभा अध्यक्षसँग प्रत्यक्ष संवाद गर्नु उपयुक्त हुने धारणा राखे। 

‘प्रधानन्यायाधीशलाई किन बोलाउनुहुन्छ तपाईं? प्रमुख विपक्षी नेता, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षलाई बोलाएर छलफल गर्न सक्नुहुन्थ्यो,’ उनले भने।

आङ्देम्बेले प्रधानमन्त्री र संवैधानिक परिषदका अध्यक्षका रूपमा बालेनसँग चिनजानसम्म नभएको पनि बताए।

‘तपाईंले संवैधानिक परिषदका सदस्यहरूबीच चिया खाएर शिष्टाचार कायम राख्दा पनि हुन्थ्यो। त्यसो भएको छैन। प्रधानमन्त्री र संवैधानिक परिषदका अध्यक्षको हिसाबले हाम्रो चिनजान नै भएको छैन। व्यक्तिगत रूपमा त चिन्छु,’ उनले भने, ‘अस्ति पनि यही कुरा भनेको थिएँ, अहिले पनि अवस्था उस्तै छ। तेस्रो पटक यस्तो नहोस्।’

उनले राष्ट्रपति र प्रमुख विपक्षी नेतासँग प्रधानमन्त्रीको संवादहीनताप्रति पनि असन्तुष्टि जनाए।

‘हामीबीच संवादहीनता छ। राष्ट्रपति र प्रधानमन्त्रीबीच पनि संवादहीनता छ। अब संवैधानिक परिषदमा पनि त्यही अवस्था देखिन थालेको हो कि, या नियत नै त्यस्तो हो?,’ आङ्देम्बेले सोधे।

बैठकमा एजेन्डागत छलफलपछि आङ्देम्बेले पूर्वी नेपालको जनजीवनसँग जोडिएको भौतिक पूर्वाधारसँग सम्बन्धित विषयमा प्रधानमन्त्री बालेनको ध्यानाकर्षण गराएका थिए।

उनले तमोर कोरिडोर अन्तर्गतका खोलाहरू (नावा, रगुवा, छरुवा लगायत) मा पुल निर्माणको काम छिटो सम्पन्न गर्न, राँके–रवि–६ नम्बर बुधबारे–भेडेटार सडक खण्डको निर्माणलाई तीव्रता दिन स्थलगत अनुगमन गर्नुपर्ने बताएका थिए।

साथै, माइखोला–इलाम खण्डमा बर्सेनि सडक भासिने समस्याको दीर्घकालीन समाधानका लागि पक्की पर्खाल निर्माण वा वैकल्पिक मार्ग निर्माणबारे कदम चाल्नुपर्ने बताए।

जबाफमा प्रधानमन्त्री बालेनले भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साललाई तत्काल स्थलगत अनुगमन गर्न निर्देशन दिइसकेको जानकारी दिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

विवादपछि गृहमन्त्रीले भने- चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्नू

गोदावरी-६ मा बाघको आक्रमण, स्थानीय त्रसित

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

सोलुखुम्बुमा अवतरण गर्न लागेका दुई हेलिकप्टरका पंखा जुध्दा दुर्घटना

पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

अर्नब चक्रवातको असर नेपालमा : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

चक्रवात ‘अर्नब’ले नेपालका कुन-कुन भूभागमा पार्छ पानी?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL