स्वास्थ्य बीमा क्षेत्रमा पुन विचार गरिनेछ: प्रधानमन्त्री
प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिने बताउनुभएको छ । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको ४३ औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बीमाका नाममा कतिपय दुरुपयोग हुने गरेको पाइएको बताउँदै उहाँले औचित्य पुष्टि हुने गरी स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिने जनाउनुभएको हो ।
उहाँले निरोगी नेपाल अभियान र बिरामीलाई सही उपचार गराउने काममा थप सफलता हासिल गर्न त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताललाई आग्रह पनि गर्नुभयो ।
“मानिसहरु बिरामी भएपछि चिकित्सक, नर्स र अस्पतालप्रति विश्वास र आशा गर्छन् । अस्पताल पुगेपछि बिरामीले बाँच्छु भन्ने आशा राखेको हुन्छ । त्यो विश्वासलाई पूरा गर्नु तपाईँहरुको दायित्व हो ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नर्सहरुको हातमा जादु हुन्छ । बिरामीलाई उपचार गर्न औषधिले मात्रै होइन, नर्सको मृदुभाषीपन र राम्रो व्यवहारले पनि बिरामीलाई निको पार्छन् । ठिक औषधि, ठिक मात्रामा र ठिक समयमा औषधि खान चिकित्सकले गर्ने सिफारिसका आधारमा औषधिलाई खुवाउने र स्याहार सुसार गर्ने काम नर्सहरुको हो ।”







