पूर्वपश्चिम लोकमार्गको लागि ३१ हजार ५२९ वटा रुख काटिने
स्तरोन्नतिको चरणमा रहेको पूर्वपश्चिम लोकमार्गको कमला–पथलैया खण्डको १३० किमी सडक दायाँबायाँका रुख व्यवस्थापनका लागि बल्ल स्वीकृति आएको छ ।
वन तथा भू संरक्षण विभागले असार २३ गते स्वीकृत परिमार्जित वातावरणीय व्यवस्थापन योजना बमोजिम ३१ हजार ५२९ वटा रुख हटाउन गौरीडाँडास्थित कमला–ढल्केवर–पथलैया सडक आयोजनामा पत्राचार गरेको छ ।
पूर्वी खण्डका आयोजना प्रमुख छविलाल पौडेलका अनुसार रुख व्यवस्थापन हुन नसक्दा सडक स्तरोन्नतिको कामले अपेक्षित गति लिन सकेको छैन । यसका लागि आयोजनाले २ वर्षअघिदेखि प्रयास गर्दै आएको थियो । २०८१ सालमै वातावरणीय अध्ययन प्रतिवेदन (इआइए) स्वीकृति भए पनि कटान आदेश बल्ल आएको हो ।
विश्व बैङ्कको १८ अर्ब ६० करोड ऋण सहयोगमा पूर्वी खण्डको सन २०२५ जनवरी १ तारिखदेखि कमला पुल पश्चिम, धनुषा जिल्लाको बडहरी र सर्लाहीको फूलजोर गरी ३ ठाउँबाट एकै साथ स्तरोन्नतिको काम अघि बढाइएको छ ।
अहिले २ लेनको पूर्वपश्चिम राजमार्गलाई एसियाली मापदण्ड अनुसार सहरी तथा बजार क्षेत्रमा ६ लेनसहित ३१ मिटर फराकिलो पार्ने र त्यसबाहेकका ठाउँमा ‘मेडियन’ सहित १८ मिटर चौडाइको ४ लेनमा स्तारोन्नतीको कामका लागि ठेक्का सम्झौता भएको हो ।
यसका लागि कमला पुलदेखि बडहरीसम्म इकेके इन्फ्रास्ट्रकचर लिमिटेड इन्डियाले तथा दोस्रो र तेस्रोमा पर्ने बडहरी–फूल जोर र फूलजोर–बागमती खण्ड चाइनिज कम्पनी एसडब्ल्यु इजे र रखुवा कन्स्ट्रक्सन कम्पनी आरसिसी ज्वाईन्ट भेन्चरले काम अघि बढाएका छन् ।
काम सुरु गरे पनि सडक क्षेत्राधिकारमा अनेकन् बाधा अड्चनले ठेकेदार कम्पनीहरू खिन्न छन् ।
आगामी सन २०२७ सम्म निर्माण सम्पन्न भइसक्नुपर्ने यस आयोजनाको ६ महिना बितिसकेको छ । यस अवधिमा न्यूनतम १५ प्रतिशत काम सम्पन्न भइसक्नुपर्ने थियो । सडक मार्गमा रहेका रुख, पोललगएतका अवरोधले १० प्रतिशत मात्र काम भएको आयोजना प्रमुख पौडेलले बताउनुभयो ।







