देश भित्र
Tuesday, 1 Jul, 2025
६७४ घटनामा, ३१ जनाको मृत्यु, ११२ घाइते

गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । ती घटनामा ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् ।राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा पहिरोका ८७ घटनामा २५ घरमा आंशिक र ११ घरमा पूर्णक्षति भएको छ ।
उक्त अवधिमा एउटा पुल, सातवटा गोठ भत्किए भने १४ चौपाया मरेका छन् । पहिरोबाट रु दुई करोड २१ लाख बराबरको क्षति भएको छ ।यसैगरी, बाढीका ६४ घटनामा चार जनाको मृत्यु भएको तथा चार जना नै घाइते भएका छन् । बाढीबाट १२३ परिवार प्रभावित भएका छन् । चार वटा घरमा क्षति भएको छ । चट्याङका ८२ वटा घटनामा आठ जनाको मृत्यु भएको, २० जना घाइते भएका छन् । हुरीका ४५ घटनामा एक जनाको मृत्यु भएको तथा तीन जना घाइते भएका छन् । विपद्का घटनामा रु २६ करोडको आर्थिक नोक्सानी भएको छ ।







