एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनको बिशाल अन्तरले पराजित
नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।
आइतबार बिहान मलेसियाको सेलान्गोर टर्फ क्लबको मैदानमा टस हारेर सुरुमा ब्याटिङ गर्दै ४२१ रनको चुनौती दिएको नेपालले इन्डोनेसियामाथि ३७० रनको सानदार जित निकालेको हो ।
नेपालविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको इन्डोनेसियाले २४.३ ओभरमा मात्र ५० रन जोड्न सक्यो । इन्डोनेसियालाई सस्तैमा अलआउट गर्न नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले ७.३ ओभर बलिङ गर्दै मात्र १२ रन दिएर ६ विकेट लिनुभयो। उहाँको बलिङमा दुई मेडन समावेश थियो। नेपालका लागि शुभम् खनाल र सुगम बुढाथोकीले थप एकएक विकेट हात पार्नुभयो ।
यसअघि सुरुमा ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ४२० रन बनाएको हो । नेपालका लागि प्रसिद्ध जैसीले शतक प्रहार गर्दा परिमार्जन यादव, रौनक श्रीवास्तव, जय थापाले सानदार अर्धशतक बनाउनुभयो। प्रसिद्धले ११४ बलको सामना गर्दा १५ चौका र एक छक्काको मद्दतमा १३२ रन बनाउनुभयो ।
त्यसैगरी परिमार्जन यादवले मात्र २८ बलमा ७१ रन बनाए । उहाँको शानदार अर्धशतकमा चार चौका र आठ छक्का समावेश थियो । रौनक श्रीवास्तवले ७१ बलको सामना गर्दा आठ चौका र दुई छक्काको मद्दतमा ८८ रन बनाए। भने जय थापाले ४१ बलमा सात चौकाको मद्दतमा ५७ रन बनाउनुभयो। सुगम बुढाथोकीले अविजित ३९ रन जोड्दा रोशन शाहीले नटआउट १० रन बनाए ।







