‘इजरायलबाट फर्कन चाहने ८ सय ८५ नेपालीकाे विवरण सङ्कलन’

असार ९ गते
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८ सय ८५ जनाले नाम टिपाएको जानकारी दिनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री राणाले यस्तो जानकारी गराउनुभएको हो ।
सरकारले युद्ध सुरु भएदेखि नै एड्भाइजरी मार्फत इजरायल तथा इरानमा रहेका नेपाली नागरिकलाई विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको मन्त्री राणाको भनाइ छ । उहाँले सम्बन्धित मुलुकहरूमा कार्यरत नेपाली राजदूतहरूसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा अवस्था बुझ्ने प्रयास भइरहेको पनि बताउनुभयो । उहाँले हालसम्म भारतमा बन्दी बनाइएका ५७ जना नेपालीहरुको उद्धार गरिएको जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयो, “परराष्ट्र मन्त्रालयले हाल इजरायल–इरानबिच उत्पन्न द्वन्द्व र यसका प्रभावहरुलाई अत्यन्त गम्भीरतासाथ लिँदै ती क्षेत्रहरुमा रहेका नेपाली नागरिकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको छ । जुन १५ मा हामीले प्रेस एड्भाइजरी जारी गरेर हाल इजरायल तथा इरानमा रहनुभएका नेपाली नागरिकहरुलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गरिरहेका छौँ ।”
उहाँका अनुसार जुन १७ अनलाई पोर्टलमार्फत नेपाली नागरिकहरुको विवरण लिन सुरु गरिएकाे हाे । उक्त पोर्टलमा हालसम्म ८ सय ८५ जनाले दर्ता गरेका छन् ।
उहाँले अवैधानिक रुपमा विदेशमा काम गरिरहेका नेपाली नागरिकलाई वैधानिक बनाउनका लागि काम गर्न कार्यदल गठन गरी काम अघि बढाइएको बताउनुभयो । उहाँले इजरायल–गाजा युद्धमा बेपत्ता भएका नेपाली विद्याथी विपिन जोशीको रिहाइको लागि सरकार प्रयासरत रहेको उल्लेख गर्नुभयाे ।







