राष्ट्रिय गौरवका योजनाको प्रगति
गएको एक वर्षमा मध्यपहाडी लोकमार्गको एक सय २७ किलोमिटर कालोपत्र सडक निर्माण भएको छ। अघिल्लो वर्ष कुल एक हजार दुई सय ८७ किमि बनेकामा यो वर्ष एक सय २७ किमि थप भएर एक हजार चार सय १२ किलोमिटर निर्माण भएको छ।
हुलाकी लोकमार्ग कालोपत्रे सडक निर्माणतर्फ पनि सरकार गठनपछिको एक वर्ष एक सय ४४ किलोमिटर सडक निर्माण थप भएको छ।
गत वर्ष ९ सय १० किमि सडक निर्माण भएकामा यो अवधिमा थपिएर एक हजार ५४ किमि निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ। कोसी करिडोर क्षेत्रमा १७ किमि ग्राभेल सडक निर्माण भएको छ।
गत वर्ष ५७ किमि सडक निर्माण भएकामा अहिले ७४ किलोमिटर निर्माण सम्पन्न भएको छ।
कालीगण्डकी करिडोर (गैंडाकोट–राम्दी–मालढुंगा) तर्फ गएको एक वर्षमा ६६ किलोमिटर कालोपत्रे सडक थप गरिएको छ। गएको वर्ष एक सय १७ किमि निर्माण भएकामा यस वर्ष एक सय ८३ किलोमिटर निर्माण सम्पन्न भएको छ।
कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोराला) खण्डतर्फ २९ बाट ३५ किलोमिटर निर्माण सम्पन्न भएको छ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी कालोपत्रे सडक २९ बाट ३६ किलोमिटर पुगेको छ । कर्णाली करिडोरको ट्रयाक निर्माण यो वर्ष ५.५ किमि थप भई २६५.५ किमि निर्माण भएको छ।
मदन भण्डारी लोकमार्गमा १८.५ किलोमिटर कालोपत्रे सडक थप भई कुल २८१ किलोमिटर सम्पन्न भएको छ।
नारायणघाट–बुटवल सडक योजना (दुई लेन) मा उल्लेख्य प्रगति भई यो सरकारको अवधिमा ३२.५ किमि कालोपत्र सडक निर्माण भएको छ । गत वर्षको पुसमा दुई किलोमिटर मात्रै सम्पन्न भएको थियो।
मुग्लिन पोखरा सडक योजना (दुई लेन) मा १२ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ।







