दक्षिण कोरियामा पानीजहाज कम्पनीमा काम इपिएस कोरिया शाखाले गर्यो आवेदन दिन आह्वान
इपिएस कोरिया शाखाले पानी जहाज कम्पनीमा पठाउने कामदारका लागि भाषा परीक्षा खुलाएको छ। करिब २ हजार ५०० कामदारका लागि भाषा परीक्षा आह्वान गरिएको हो।
आवेदन फारम साउनको २० गतेदेखि २४ गतेसम्म भर्न सकिने इपिएस शाखाले जानकारी दिएको छ। इपिएस नेपालको वेब साइटमा लगइन गरेर फारम भर्न सकिने छ।भाषा परीक्षा असोज १ गतेदेखि सुरू हुने इपिएस कोरिया शाखाले जानकारी दिएको छ।
‘नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न समझदारी पत्रअनुरूप रोजगार अनुमति प्रणालीअन्तर्गत् गणतन्त्र कोरियामा नेपाली नागरिकलाई पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा संचालन गर्ने आवेदन फाराम दर्ता गर्नुहुन सूचना आह्वान गरिएको छ,’ इपिएस कोरिया शाखाको सूचनामा भनिएको छ।
आवेदकले अनलाइनबाट मात्र फारम भर्नुपर्ने छ । ती फारम दर्ता साउन २० गतेदेखि २४ गतेसम्म हुनेछ । भाषा परीक्षा हुने स्थान र समय भदौ ८ गते शुक्रबार प्रकाशित गरिने सूचनामा उल्लेख छ ।भाषा परीक्षामा पास भएकाहरुले दोस्रो चरणमा सीप परीक्षा दिनुपर्ने छ । भाषा परीक्षा, सीप परीक्षण र स्वास्थ्य परीक्षणमा पास भएपछि मात्र रोजगार आवेदन फारम भर्न पाइने छ ।








