आमरण अनसन बसेका रामकुमार शर्मा अस्पताल भर्ना
काठमाडौँ । नागरिकता समस्या समाधानको माग गर्दै आमरण अनसन बसेका माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्मा अस्पताल भर्ना भएका छन् ।
पाँच दिनदेखि माइतीघर मण्डलमा आमरण अनसन बस्दै आएका नेता शर्माको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि रातिदेखि वीर अस्पतालमा भर्ना गरिएको हो ।नेता शर्मा अझै आमरण अनसनमै नै छन् । डाक्टरले मुखबाट खाना खानका लागि आग्रह गरे पनि नेता शर्माले आफू आमरण अनसनमा बसेको कारण माग पुरा नभएसम्म खान नखाने अडान लिएका छन् ।
डिस्चार्ज भएमा पुनः माइतीघरमा नै गएर अनसन बस्ने उनको तयारी रहेको छ । संसदबाट पारित नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको थियो । तर सर्वोच्च अदालतमा त्यस विरुद्ध परेको रिटमा सुनुवाइ हुँदा अदालतले मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।त्यसपछि नेता शर्माले माइतीघरमा आमरण अनसन सुरु गरेका थिए ।







