उपराष्ट्रपतिको उम्मेदवार प्रमिला यादवले गरिन् उम्मेदवारी फिर्ता लिएको घोषणा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की सांसद प्रमिला यादवले उपराष्ट्रपति पदमा दिएको उम्मेदवारी फिर्तालिएको घोषणा गरेकी छन् । यादवले सोमवार अर्का उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्दै एक विज्ञप्ति जारी गरि उम्मेदवारी फिर्ता लिएकी हुन् ।
विज्ञप्तिमा उनले स्वच्छ छवि र उच्च विचारका राम सहायलाई समर्थन गरेको जनाउँदै उनलाई सहयोग गर्न सबैलाई अपिल पनि गरेकी छन् । उनले आफ्नो उम्मेदवारी प्राविधिक रुपमा हुन गएको भन्दै रामसहाय यादवलाई समर्थन गरेको स्पष्ट पारेकी छन् ।
उनले भनेकी छन्, ‘अब उप्रान्त म उपराष्ट्रपति पदका लागि उम्मेदवार नरहेको हुँदा गठबन्धनको तर्फबाट उम्मेदवार रहनु भएका माननीय रामसहाय प्रसाद यादवलाई आफ्नो अमूल्य मत लिई विजयी गराउन हुन सम्पूर्ण माननीय सांसद एवं माननीय प्रदेशसभा सदस्यहरुलाई अपील गर्दछु ।’
सत्ता गठबन्धनबाट रामसहाय र प्रमिलासँगै जनमत पार्टीकी ममता झा उम्मेदवार छिन् । रामसहायको उम्मेदवारीविरुद्ध एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेका थिए । तर निर्वाचन अधिकृतको कार्यालयले आइतबार रामसहायको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ ।








