इन्गेजमेन्ट टुटेपछि जलेको अवस्थामा भेटिएकी युवतीको मृत्यु
काठमाडौंमा आगोले जलेर गम्भीर घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ।आइतबार साँझ दरबारमार्गस्थित केल्मी ब्राण्डको शोरुम सञ्चालक २७ वर्षीया पुष्पा न्यौपाने धुम्बाराहीमा आगोले जलेको अवस्थामा फेला परेकी थिइन्।
उनको मृत्यु शंकास्पद भएको भन्दै परिवारले प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएको छ ।
काठमाडौं महानगर-१० बानेश्वर बस्ने पुष्पा आइतबार साँझ सवा ७ बजे काठमाडौं महानगरपालिका-४ धुम्बराहीस्थित एउटा घरअगाडि गएकी थिइन्। उक्त घरका युवकसँग उनको गत भदौमा इन्गेजमेन्ट भएको थियो। तर केटाको परिवारले कारणसमेत नबताई एक्कासी इन्गेजमेन्ट टुटाएको मृतकका आफन्तको भनाइ छ।
प्रहरी वृत्त, महाराजगञ्जका अनुसार न्यौपानेले आइतबार केटा पक्षको धुम्बाराहीस्थित घर गेट अगाडि आत्महत्या गर्न पेट्रोल खन्याएकी थिइन् । तर, उनलाई बचाउनुको साटो नरोकी आत्महत्या गर्न दुरुत्साहन गरेको परिवारको दाबी छ ।







