काठमाडौं महानगरले असहाय बालबालिकालाई मासिक भत्ता दिने
महानगरभित्र स्थायी ठेगाना भएका, आमा–बुबा दुवै गुमाएका बालबालिकाले आवेदन दिन सक्ने
काठमाडौं– काठमाडौं महानगरले नगरभित्रका असहाय बालबालिकालाई मासिक भत्ता उपलब्ध गराउन प्रस्ताव माग गरेको छ । शुक्रबार महानगरको सामाजिक विकास विभागले सूचनामार्फत यस्तो प्रस्ताव माग गरेको हो ।
महानगरभित्र स्थायी ठेगाना भएका, आमा–बुबा दुवै गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषण सुनिश्चित गरी सामाजिक संरक्षण गर्ने उद्देश्यले बुबा र आमा दुवैको मृत्यु भएका वा दुवैको संरक्षण र रेखदेखबाट वञ्चित भई अरुको संरक्षणमा बसेका बालबालिकाले यस्तो वृत्ति पाउनेछन् ।
महानगरका अनुसार बुबा–आमाविहीन बालबालिका वा निजको संरक्षक वा स्याहारसुसार गर्ने व्यक्तिले आफू बसेको वडा कार्यालयमा तोकिएका कागजात लिएर आवेदन दिन सक्नेछन् ।
३० दिनभित्र यस्तो आवेदन दिन सकिनेछ। आवेदन दिँदा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता भए त्यसको प्रतिलिपि), आमा–बुबा दुवैको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपिसमेत आवश्यक पर्ने महानगरले जनाएको छ ।
विद्यालय भर्ना भई नियमित विद्यालय जाने गरेको भनी विद्यालयले दिएको सिफारिस पत्र र संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।







