भोट माग्न घरदैलो चहार्दै पाल्पाका उम्मेदवार
प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले मतदातालाई भेटेर भोट दिन आग्रह गर्दै घरदैलो गर्न थालेका हुन्
पाल्पा– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि विभिन्न पार्टीबाट टिकट पाएका पाल्पाका उम्मेदवार घरदैलोमा व्यस्त हुन थालेका छन् ।प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले मतदातालाई भेटेर भोट दिन आग्रह गर्दै घरदैलो गर्न थालेका हुन् ।
दलका तर्फबाट उम्मेदवार बनेकाहरू जिल्लाका नेता तथा कार्यकर्तासँगै मतदाताको घरमा पुगिरहेका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार पनि शुभचिन्तकसँगै मतदाताको घरमा पुगेर मत मागिरहेका छन् ।गठबन्धनका तर्फबाट प्रतिनिधिसभा पाल्पा क्षेत्र– २ का उम्मेदवार पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले आफू निरन्तर घरदैलो कार्यक्रममा व्यस्त रहेको बताए । ‘पार्टी कमिटीले आयोजना गरेको कार्यक्रमसँगै मतदातालाई भेट्न घरदैलो कार्यक्रममा व्यस्त बनेको छु’ उनले भने ।
सोही क्षेत्रमा एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार ठाकुर गैरेले मतदातालाई भेट्न घरदैलो कार्यक्रम प्रभावकारी बनिरहेको बताए । आफू पहिलो पटक चुनाव लडेकाले मतदातालाई नयाँ योजना सुनाउन र मतदाताको समेत सुझाव लिन घरदैलो गरेको उनको भनाइ छ ।
उम्मेदवारले चुनावीसभा, सम्मेलन गर्नेभन्दा पनि मतदातालाई व्यक्तिगत रूपमा भेटेर मनाउने प्रयास गरेका छन् । विगतमा चुनावी सभा, भेला तथा अनेक प्रचार शैली अपनाएका उम्मेदवार यस पटक भिन्न शैलीमा फकाउने प्रयास गरिरहेको मतदाता बताउँछन् ।पाल्पा क्षेत्र–१ मा एमालेबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका नारायणप्रसाद आचार्य र गठबन्धनका कांग्रेसबाट उम्मेदवार बनेका ज्ञानबहादुर गाहाले मतदातालाई भेट्न थालेको जानकारी दिए ।
औपचारिक कार्यक्रम अझै सुरु भइनसकेकाले अहिले आफूले मतदाता तथा समाजका अगुवा व्यक्तिलाई भेटेर आफ्नो विचार तथा एजेन्डा सुनाएको आचार्यले बताए ।यस्तै, अर्का उम्मेदवार गाहाले पनि रामपुर, निस्दी क्षेत्रका मतदातालाई व्यक्तिगत रूपमा भेट्ने र आफ्नो उम्मेदवारीबारे जानकारी दिन थालेको सुनाए । प्रतिनिधिसभाका उम्मेदवार मात्र होइन, प्रदेशसभाका उम्मेदवार पनि मतदातालाई भेट्न घरदैलो कार्यक्रममा व्यस्त भएका छन् ।







